आइतबार, कार्तिक १०, २०८२

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ: मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा भइरहेको राजनीतिकरण हटाउन कुलपति प्रधानमन्त्री हुने व्यवस्था खारेज गर्नुपर्ने बताएका छन्। उनले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकांश उपकुलपतिहरूको सुझावअनुसार विश्वविद्यालय सुधारका लागि राजनीतिकरण निर्मूल पार्नुपर्नेमा जोड दिएका हुन्।
मन्त्री पुनले प्रधानमन्त्रीको सट्टा बोर्ड अफ ट्रस्टी गठन गरेर सोही बोर्डले निष्पक्ष रूपमा कुलपति चयन गर्ने व्यवस्था गर्नुपर्ने बताए। यद्यपि, यसका लागि कानुन संशोधन गर्नुपर्ने भए पनि हाल कानुन संशोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उनको भनाइ छ। तर, विश्वविद्यालय सुधारका लागि केही मस्यौदा तयार भइरहेको जानकारी उनले दिए।

उनले विश्वविद्यालयहरूले परीक्षाफल समयमा प्रकाशित नगरेको गुनासो आएको भन्दै अब समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयको अनुदान रोकिने चेतावनीसमेत दिए।

यसका अतिरिक्त, मन्त्रालयले शिक्षकहरूको तलबभत्ता, प्रधानाध्यापक छनोट प्रक्रिया र पाठ्यक्रम परिमार्जन लगायतका कामहरू अगाडि बढाएको मन्त्री पुनले जानकारी दिए।

यसमा तपाईको प्रतिक्रिया