शुक्रबार, असोज २४, २०८२

परिवर्तन आत्मसात गरेर चुनावमा जान दलहरुलाई प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई निषेध गरेर जान नसकिने प्रष्ट पारेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा प्रधानमन्त्री कार्कीले दलहरुले पनि परिवर्तनलाई आत्मसाथ गर्नुपर्ने बताइन् ।

कार्कीले दलहरूको सहभातिाविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रवन्ध गर्ने विश्वास दिलाएकी थिइन् ।
प्रधानमन्त्रीले जेनजीहरू हामीहरू सबैको छोरा नाती भएकाले उनीहरूले किन आज यस्तो असंतुष्टी व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेकी थिइन् ।
बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए । बैठकमा सहभागी एमाले र कांग्रेसका नेताहरुले भने भदौ २४ गते लुटिएका प्रहरीका हतियार र जेलबाट भागेका कैदी बन्दीहरु बाहिरै छाडेर निर्वाचन कसरी गर्न सकिन्छ भन्ने प्रश्न उठाएका थिए ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजीहरुका महत्त्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताएका छन् ।
उनले राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताए ।

यसमा तपाईको प्रतिक्रिया