आइतबार, माघ ०५, २०८२

उत्पन्न परिस्थितिको समाधान संविधानभित्रैबाट खोज्नुपर्ने देउवाको जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उत्पन्न परिस्थितिको समाधान संविधानभित्रैबाट खोज्नुपर्ने बताएका छन् । वडादशैँको अवसरमा शुभकामना सन्देशमार्फत उनले मुलुकको सर्वोच्च कानुन संविधान रहेको भन्दै त्यहीबाटै निकास निकाल्नुपर्नेमा जोड दिएका छन् ।

‘संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सात दशकभन्दा लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र इच्छा–आकांक्षाबमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित हुन्छ ।’

उनले समृद्धिसँगै एकता र शान्तिको मार्गमा सबैको योगदान आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्नहरूलाई आपराधिक समूहको संज्ञा उनले विज्ञप्तिमा दिएका छन् ।

राष्ट्रपति भवन, सिंहदरबार, संसद्, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरूमा भएको तोडफोडमा खरबौँको क्षति पुगेको भन्दै देउवाले नेपालको इतिहासमा यो अत्यन्त अकल्पनीय र दुःखद घटना भएको जनाएका छन् ।

भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका युवाहरू तथा प्रहरीलाई श्रद्धाञ्जली व्यक्त गर्दै देउवाले घाइतेहरूको पनि शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।