आइतबार, असोज २६, २०८२

जापानभर पहिलो पटक न्यूनतम तलब १ हजार येनमाथि, अक्टुबर १ देखि लागू

टोकियो । जापानमा न्यूनतम ज्याला वृद्धि हुने भएको छ । अब सबै प्रिफेक्चरमा प्रतिघण्टा १ हजार येनभन्दा माथि पुगेको छ। नयाँ व्यवस्था अक्टोबर १ तारिखदेखि लागू हुने जनाएको छ।
न्यूनतम ज्याला भन्नाले कुनै पनि कम्पनीले आफ्ना कामदारलाई अनिवार्य रूपमा दिनैपर्ने न्यूनतम पारिश्रमिक हो। यस पटकको संशोधन अनुसार, जापानभरको औसत न्यूनतम ज्याला प्रतिघण्टा ६६ येनले बढेर १ हजार १ सय २१ येन पुगेको छ। यो सन् २००२ मा हालको प्रणाली सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि हो।

यस पटकको संशोधनपछि सबैभन्दा बढी न्यूनतम तलब टोकियोमा १ हजार २ सय २६ येन पुगेको छ भने सबैभन्दा कम कोची, मियाजाकी र ओकिनावा प्रिफेक्चरमा १ हजार २३ येन रहनेछ। यसरी अब जापानका सबै प्रिफेक्चरमा पहिलो पटक न्यूनतम तलब १ हजार येनभन्दा माथि पुगेको छ।

तलब वृद्धिको दर हेर्ने हो भने यसपटक विशेषगरी ग्रामीण क्षेत्र र श्रमिक पलायन रोक्ने उद्देश्यले ठूलो वृद्धि गरिएको छ। कुमामोतो प्रिफेक्चरमा ८२ येन, ओइता प्रिफेक्चरमा ८१ येन, आकिता प्रिफेक्चरमा ८० येन, इवाते प्रिफेक्चरमा ७९ येन र फुकुसिमा, गुन्मा तथा नागासाकी प्रिफेक्चरमा ७८ येनले वृद्धि भएको छ। यसरी कुल १८ प्रिफेक्चरमा ७० येनभन्दा बढी न्यूनतम ज्याला वृद्धि भएको छ।

सामान्यतया नयाँ तलब अक्टोबरमै लागू हुने भए पनि यस पटकको ठूलो वृद्धिका कारण केही प्रिफेक्चरले कम्पनीहरूलाई तयारी गर्न अतिरिक्त समय दिएका छन्।

यसमा तपाईको प्रतिक्रिया