काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहालकै संयोजकत्वमा आयोजक समिति बनाउने प्रस्ताव पदाधिकारी बैठकले गरेको उनले जानकारी दिए । उनकाअनुसार उक्त प्रस्तावमाथि ९ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
बैठकले मध्यावधि निर्वाचन घोषित मितिमै हुनुपर्ने भन्दै त्यसका लागि पार्टीले आवश्यक भूमिका खेल्ने निर्णय u/]को पनि बताए ।
उनले भने,‘आजको बैठकमा अध्यक्ष कमरेडले सविस्तार ब्रिफिङ गर्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र त्यसको संश्लेषणपछि सबै पदाधिकारीहरूले आआफ्नो धारणा राख्नुभयो । सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचन समयमा गर्नुपर्छ । त्यसका लागि पार्टीले खेल्नुपर्ने सबै प्रकारको भूमिका खेलिन्छ ।
केन्द्रीय समिति विघटन गरी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय पनि भएको छ । नेतृत्वको हस्तान्तरणबारे विचार, विधि र प्रक्रियाको बारेमा प्रारम्भिक छलफल भयो । अगामी योजनको बारेमा पनि बृहत् छलफल भएको छ । त्यसको विस्तृत प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय पनि भएको छ ।
बैठकले लोकतान्त्रिक र परिवर्तनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अघि बढ्न अपिल गर्ने निर्णय पनि गरेको छ ।

