काठमाडौँ । जेनजी आन्दोलनका सुदन गुरुङले पीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले शहीद परिवारको माग भोली सोमबार बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी समेत दिए । पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबार पुगेर पदभार ग्रहण गरेको केहीबेरमा नै उनले सो प्रतिक्रिया दिए ।
अभियन्ता गुरुङले भने ‘हाम्रो माग अझै पनि पूरा भएको छैन । जारी छ । म एक्लै भएपनि आन्दोलन जारी छ । मलाई इन्डियन, चाइनिज जे भनेपनि मेरो निम्ति देश ठुलो हो, लड्छु । भोली बिहानसम्म उनीहरूको माग पूरा हुन्छ । माग पूरा नभए सरकार फेरी पनि ढल्छ । जुन सरकार पनि जनताको हुनुपर्छ । पिपुल पावर भन्छ, पावर जहिले पनि नेताको हुन्छ । अहिले जनताको एक्सेस भएको छ । त्यो कहिल्यै यस अघि भएको थिएन । पीडितले न्याय पाउने कुरा कन्फर्म त भएको छैन । त्यो नभएसम्म जुनै सरकार आएपनि ढल्छ । टेनसन नलिए हुन्छ । म छु–एक्लै भएपनि लड्छु ।’
कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए ।

