मङ्गलबार, पुष २९, २०८२

चर्को विरोध र दबाब थेग्न नसकेपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए ।

प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए ।

जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्तत: सरकार निर्णयबाट पछि हटेको हो ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।