काठमाडौं । विश्व रेकर्ड कायम गर्ने उद्देश्यसहित ‘सेभेन समिट’मा निस्किएका नेपाली युवा आरोही प्रकाशराज पाण्डेले इन्डोनेसियाको सर्वोच्च शिखरको सफल आरोहण गरेका छन्।
ओसिनिया क्षेत्रको इण्डोनेसियामा पर्ने सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया) मा पाण्डेले स्थानीय समय अनुसार आइतबार बिहान चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको जानकारी दिए
‘मेरो सेभेन समिट अभियान अन्तर्गत ओसिनिया क्षेत्रको सर्वोच्च शिखर, काष्ट्रेन्ज पिरामिड (४,८८४ मि.) अगस्ट १७, २०२५ मा सफल आरोहण गरेको जानकारी गराउन पाउँदा गौरवान्वित छु। इण्डोनेशियाको पपुआ प्रान्तमा अवस्थित यो हिमालको चुचुरोमा मैले हाम्रो नेपाली राष्ट्रिय झण्डा सगर्व फहराउन पाएँ धेरै खुसी छु।’ पाण्डेले भने, ‘यो मेरो सेभेन समिट अभियानको पाँचौँ सफलतामा साथ सहयोग प्रदान गर्ने सबैलाइ हार्दिक धन्यवाद दिन चाहन्छु।’कास्ट्रेन्स्ज पिरामिड ४ हजार ८ सय ८४ मिटर उचाइको चुनढुङ्गाले बनेको पिरामिड आकारको हिमाल हो। जुन पपुवा प्रान्त, इण्डोनेसियामा अवस्थित छ। विश्वका सात महादेशका उच्च शिखरमध्ये एक मानिने यो हिमाल आरोहीका लागि अत्यन्त चुनौती पूर्ण मानिन्छ।जलवायुका मुद्दालाई लिएर विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानका साथ अगाडि बढेका रामेछापको लिखु तामाकोशी गाउँपालिका निवासी पाण्डे सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै इण्डोनेसियातर्फ प्रस्थान गरेका थिए।
यस अगाडि उनले अर्जेन्टिनास्थित माउण्ट अकोन्कागुआको शिखरमा फेब्रुअरी ६ तारिखमा दिन बिहान सफल आरोहण गरेका थिए। ‘यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेँ। सात वटा महादेशका अग्ला हिमाल चढ्नेक्रममा छु। सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेको हुँ, त्यो पूरा गरेँ। त्यसपश्चात अहिले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो र दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखर अकोन्कागुआको पनि सफल आरोहण गरेँ।’ पाण्डेले अन्नपूर्णसँग भने,‘आइतबार कास्ट्रेन्स्ज पिरामिड आरोहण गरिसेको छु अब मेरो आगामी यात्रा उत्तर अमेरिका र अन्टार्टिकाको उच्च हिमाल आरोहण गर्नेछु।’
विश्वमा देखिरहेको जलवायु परिवर्तनको मुद्दा बोकेर पाण्डे हिमाल आरोहणम लागेका हुन्। पाण्डेलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए।

