सोमबार, माघ ०६, २०८२

जापानमा विदेशी कामदारलाई गरिने दुर्व्यवहार रोक्न अध्यागमनले निगरानी गर्ने

टोकियो । जापानको अध्यागमन विभागले विशेष प्रकारका भिसा लिएर अस्थायी स्टाफिङ एजेन्सीमार्फत काम गर्ने विदेशी कामदारहरूमाथि भइरहेकोदुर्व्यवहार रोक्न कदम चाल्ने तयारी गरेको छ।
जापानी संचार माध्यमहरुका अनुसार, कतिपय विदेशी कामदारहरूलाई उनीहरूको विशेषज्ञता विपरीत सामान्य श्रममा लगाइएको तथ्य पत्ता लागेपछि विभागले यस्तो कदम चाल्न लागेको हो।

इन्जिनियर, मानविकी विशेषज्ञ तथा अन्तर्राष्ट्रिय सेवामा संलग्न व्यक्तिलाई दिइने यो भिसाले जापानमा लामो समयसम्म काम गर्न अनुमति दिन्छ, जसमा नवीकरणको कुनै सीमा हुँदैन। सन २०२४ को अन्त्यसम्म यो भिसा पाउने विदेशीहरूको संख्या ४ लाख १० हजार पुगेको छ, जसमा करिब १० प्रतिशत अस्थायी रोजगार एजेन्सीमार्फत काम गरिरहेका छन्। धेरैजसोले अनुवाद, उत्पादन व्यवस्थापनजस्ता काम गर्दै आएका छन्।
यो भिसा पाउन आफ्नै देशको विश्वविद्यालय स्नातकजस्ता शैक्षिक योग्यता आवश्यक पर्छ र मूलतस् उच्चस्तरीय व्यावसायिक काम गर्न मात्र प्रयोग गर्न पाइन्छ। तर, कतिपय अस्थायी रोजगार कम्पनीहरूले यस्ता कामदारलाई अन्य सामान्य काम गर्न सक्ने भनेर ग्राहकलाई जानकारी दिँदै गैरविशेषज्ञ काममा संलग्न गराएका घटनाहरू भेटिएका छन्।

अध्यागमन विभागले थप घटनाहरूको जाँच गर्ने र यसबारेमा सचेतना अभिवृद्धि गर्ने बताएको छ। यदि स्थिति सुधार भएन भने, विदेशी कामदारहरूले आफ्नो बसाइ अवधिमा फरक कम्पनीमा पठाइएमा अनिवार्य रूपमा जानकारी दिनुपर्ने व्यवस्था गर्ने विकल्प पनि विचाराधीन छ।

विदेशीहरूको समर्थनमा काम गर्ने समूहहरूले अस्थायी रोजगार कम्पनीहरूले काम नै नदिने उजुरीहरू पनि बढेको जनाएका छन्।

यता, आप्रवासन विभागले बिजनेस म्यानेजर भिसा मा पनि कडाइ गर्ने सोच बनाइरहेको छ। यो भिसा मूलतस् स्टार्टअप व्यवसायलाई समर्थन गर्ने उद्देश्यले दिइन्छ तर कतिपयले नाम मात्रको कम्पनीमार्फत आवेदन दिएर स्वीकृति लिइरहेको पाइएपछि कडाइ गर्ने तयारी गरिएको हो।
यसका लागि हालको न्यूनतम पुँजी ५० लाख येनबाट बढाएर ३ करोड येन पुर्‍याउने सम्भावना रहेको बताइएको छ।
#नेपालन्यूजपोस्ट