शुक्रबार, फागुन २९, २०८२

गुरु रिम्पोछे जन्मदिन विशेष: छेच्यु पूजा,प्रतिमासहित शोभायात्रा र अष्टलिला नृत्य

बौद्ध धर्मावलम्वीका लागि मात्र नभएर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रविन्दु बौद्ध स्तूप परिसरमा प्राय जसो मानिसहरूको भिडभाड नै देखिन्छ । फोटो खिच्न र परिवारसँग समय बिताउनका लागि पनि यहाँ थुप्रै मानिसहरू आउने गर्दछन् । यद्यपि, सोमबार वर्षाका बावजुत पनि उल्लेख्य मात्रामा उपस्थित भिडमा छुट्टै उत्सुकता देखिन्थ्यो । त्यो भिडमा उपस्थित कतिलाई अष्ठलिला भनेको के हो नै थाहा थिएन भने कतिलाई एउटा आस्था थियो हामी आज गुरु रिन्पोछे भेट्दै छौ वहाँको दर्शन गर्न पाएमा हामी खुशी हुन्छौ । र, त्यही भिडमा सुनिन्थो गुरूको दर्शन गर्न दिनुभएकोमा आयोजकलाई धेरै धन्यवाद आगामी दिनमा पनि हामीलाई यस्तै धार्मिक नृत्य हेर्ने अवसर दिनहुन अनुरोध गर्छौ ।

यस्तैयस्तै, कुराहरू भईरहँदा भिडलाई छल्दै एकाएक देवीदेवताबीच पदमसंम्भवको पोशाकको भेषमा लामा गुरु नाच्दै निस्केका थिए । लामा गुरुले शिरमा कलात्मक मयुरप्वाखे पवित्र शिरपोष, हातमा तन्त्रमन्त्र कुदिँएका भयंकर बज्र र घण्टी पहिरिएका थिए। धार्मिक पोशाकमा चिटिक्क देखिएका बौद्ध धर्मगुरु रिन्पोछे (पदमसंम्भव)सँगै रिन्पाछेकै स्वरुप र देवीदेवताको सामुहिक लस्कर निस्किएको थियो।

यस प्रकारको धार्मिक नृत्य साधारण मनोरञ्जनका रुपमा मात्र नभइ भाग लिए वापत विशेष आशीर्वाद प्राप्त हुने विश्वास बौद्धमार्गीहरूले राख्छन्। गुरु रिम्पोछेको प्रतिक स्वरुपका साथ अन्य विभिन्न देवी देवताका विभिन्न मुद्राका मुकुण्डोहरु लगाएर धार्मिक पूजा गर्दै नाच्नदै गर्दा हेर्ने मानिसहरुको भिड थामिनस्कनुको थियो । छेच्युमा धार्मिक नाचको लागि आध्यात्मिक सिद्धी पाएका लामा मात्रै (न्हाम्सा) पोशाक लगाएर सहभागी हुने गर्छन्। गुरु रिम्पोछेको जन्मदिन र धर्मग्रन्थअनुरुप पदमसंम्भवालाई आव्हान गरेर तान्त्रिक नृत्यमार्फत राक्षसमाथि विजय गरेको छेज्युमा तान्त्रिक नृत्य देखाइएको थियो ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिले विभिन्न कार्यक्रम गरी आचार्य पद्मसंभव (गुरु रिन्पोछे) जन्म दिवस (छेच्यु) को अवसरमा सोमबार बौद्ध महाँचैत्यमा पदर्शन गरिएको गुरु पद्मसंभवको अष्टलिला (धार्मिक नृत्य) ले बालबालिका देखि वृद्धसम्म सबैको ध्यान आकर्षण गर्न सफल भयो । हिमाली बौद्ध परम्परामा दोस्रो बुद्धका रूपमा मानिने गुरु पद्मसंभवको विभिन्न समयमा हिमाली क्षेत्रमा बौद्धधर्म नरहेको र मानिसहरू अशान्त, दानवी प्रवृत्ति रहेकोमा पद्मसंभवले विभिन्न आठ वटा रूप प्रदर्शन गरी सामाजिक जीवन प्रधान गरेको हुनाले अष्टलिला धार्मिक नृत्य सुरु गरिएको बताइन्छ ।

गुम्बाहरूमा मात्र सीमित यस्ता परम्परागत र धार्मिक नृत्यको बारेमा सबैले जानकारी पाउन र पर्यटन प्रवर्द्धनका लागि पनि राम्रो हुने भएकोले आफुहरुले यस्ताखाले कार्यक्रम गरेको समितिको कार्यकारी निर्देशक मोहनकुमार तामाङले बताए । गुरु पद्मसंभवको पहिलो जन्ममा उनी र उनका दाजुभाइहरूले बौद्ध महाचैत्यको निर्माण गरेको बताइन्छ । त्यस कारण पनि गुरु पद्मसंभवको बौद्ध महाचैत्यसँग गहिरो सम्बन्ध रहेको पाइन्छ ।

कार्यक्रममा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका थिए । बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको सङ्ख्या विश्वमै बढिरहेको उनको भनाई थियो । मन्त्री पाण्डेले पहिलोपटक गुरु पद्मसंभवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम भएको बताउँदै यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

नेपालको ऐतिहासिक, धार्मिक र आध्यात्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार र विश्वसामु प्रभावकारी प्रस्तुतीकरण नेपाल सरकारको प्राथमिकतामा रहेको पनि उनी बताउँछन । यस्तै, समितिका अध्यक्ष राजकुमार लामाले बौद्ध परम्परामा गुरु पदमसंभवको ठुलो महिमा रहेको र वहाँले मानव जिवन सफल पार्न धार्मिक पाटोबाट दिनुभएको सन्देशको पालना गर्ने कोशिस गर्नुपर्ने जोड दिए ।

गुरु रिन्पोछेको जन्मोत्सवको अवसरमा समितिले महाँकालस्थित गुरु रिन्पोछे प्रतिमा स्थलमा आचार्य थुप्तेनको अगुवाइमा , घ्योइलिसाङमा शेचेन गुम्बाका लामा गुरूहरूबाट र तिनचुली आनन्दपुरस्थित गुरु प्रतिमा स्थलमा खेन्पो सर्बजीत गोङबाको अगुवाइमा विशेष पूजापाठ सम्पन्न गरेको थियो ।यस्तै, विभिन्न ७० वटा भन्दाबढी संघ संस्था, धर्मगुरुहरु र स्थानीयको सहभागितामा तिनचुलीबाट शुरु गरिएको शोभा यात्रा बौद्धमा पुर्याइएकोे थियो । साँझमा, बौद्ध परिसरमा लाख बती (म्हार्मे) प्रज्वलन गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।