काठमाडौं । तामाङ चलचित्र संघ, बागमती प्रदेशको चौथो वार्षिक साधारण सभा,चलचित्र ‘अभियान’प्रदर्शन, स्रष्टा सम्मान साथै वृहत् साँस्कृतिक कार्यक्रम
सम्पन्न भएको छ ।
तामाङ कला, भाषा र संंस्कृतिको समृद्ध यात्रामा समर्पित तामाङ चलचित्र संघ, बागमती प्रदेशले शनिबार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । महासचिव करण तामाङको संयोजकत्व र अध्यक्ष दावा फिन्जो तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन भने लिसंगुपाखर गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष राजु तामाङले गरेका थिए ।
कार्यक्रम उद्घाटन गरेसँगै स्वर्गिय जयनन्द लामाको अन्तिम चलचित्र“अभियान” प्रदर्शन गरिएको थियो। कार्यक्रम सञ्चालन संयोजक एवम् महासचिव तामाङले गरेका थिए भने स्वागत मन्तव्य कलाकार राजकुमार तामाङले राखेका थिए । चलचित्र ‘अभियान’ले तामाङ समाजभित्रको बदलिँदो चेतना, सामाजिक उत्तरदायित्व र सशक्त सन्देशलाई कलात्मक माध्यममार्फत प्रस्तुत गरेको बताउँदै गाउँपालिका अध्यक्ष तामाङले आगामी दिनमा पनि यस्ताखाले चलचित्र निर्माण गर्न तामाङ कलाकारहरुलाई सुझाव दिदै आफुले सक्ने सहयोग गर्ने बताए । संघकै इतिहासमा कार्यक्रम उत्कृष्ट रुपमा आयोजना भएको र उत्कृष्टताका साथ सम्पन्न भएको समेत उनको भनाई छ । तामाङ समुदायको सिर्जनशीलता र सामाजिक उत्तरदायित्वप्रति आँफु सदैव तयार भएको अध्यक्ष तामाङले बताए ।
कार्यक्रममा सामाजिक सेवामा समर्पित व्यक्तित्व, तामाङ चलचित्र क्षेत्रका नायक, निर्देशक, गायक तथा तामाङ चलचित्र लगायतका कला साँस्कृतिक क्षेत्रमा योगदान प्रदान गर्दै आएका अग्रज स्रष्टा सर्जकहरुलाई विभिन्न शिर्षकका सम्मानहरुबाट अभिनन्दन गरिएको संस्थाका महासचिव करण तामाङले बताए । यस्तै, कार्यक्रमलाई सहयोग गर्नुहुने संघ संस्था, व्यक्ति र पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम सफलताको कामना र समर्थनको लागि उपस्थित रहेका सम्पुर्णलाई कार्यक्रमका अध्यक्ष दावा फिन्जो तामाङले धन्यवाद व्यक्त गर्दै कार्यक्रममा उपस्थिति नभएकाहरुलाई पद मात्रै ओगटेर नबस्न अनुरोध गर्दै आफुले त्यस्ता खाले व्यक्ति नराख्ने बताए । घमण्ड गरेर संघ संस्थाको व्यक्ति म भन्दा ठुलो कोही छैन भन्नु आफैलाई घाटा हुने समेत उनको भनाई छ । साथै, अध्यक्ष लामाले चलचित्र विकास बोर्ड र सरकारप्रति कलाकारहरुका लागि केहि नगरेको बताउँदै असन्तुष्टि व्यक्त गरेका थिए ।।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य तथा नुवाकोटका नेता प्रताप सिंह लामा, राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय अध्यक्ष एवम् सु प्रसिद्ध गायक प्रकाश कटुवाल, तामाङ चलचित्र संघ केन्द्रीय अध्यक्ष दिपक तामाङ, विश्व किर्तीमानी सगरमाथा आरोही साथै डान्सिङ स्टार नेपाल विजेता छिरिङ शेर्पा, अग्रज कलाकर्मी मिलन मोक्तान, भाषाविद तथा संस्कृतिविद अजीतमान तामाङ, समाजसेवी आसमान वाईबा, समाजसेवी तथा लामा गुरु शेरब लामा, कलाकार उत्तम केसी, तामाङ चलचित्र तर्फबाट नायक,निर्देश, नायिकाहरु लगायतको विशेष उपस्थिति रहेको थियोे ।

