काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने देउवाको भनाइ थियो ।
‘नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ । अरु कामहरुका लागि एनआरएन नागरिकता दिन सकिन्छ । हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ । नागरिकताको सम्बन्धमा छलफलको विषय छ,’ देउवाले भने, ‘अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरु सुविधाहरु दिन सकिन्छ । नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।’
ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निष्कर्ष निस्किने जिकिर उनले गरे ।
‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिट्टै निष्कर्ष निस्किनेछ ।