पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आगामी जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ। पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ। कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि आगामी ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले बताउनुभयो ।
महायज्ञमा हालसम्म ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिनुभयो । वहाँका अनुसार नगद रसिद मार्फत ४ करोड ५३ लाख १३ हजार ६८, क्युआर मार्फत ३१ लाख ७ हजार २ सय ७३, चेक मार्फत १४ लाख ४१ हजार ७ सय १० जौ चरुमा भेटी स्वरूप आएको १९ लाख ७४ हजार १ सय ९४, जिन्सीमा आएको भेटी १४ लाख ८४ हजार ५ सय ६८, गोप्य दान मार्फत २२ हजार ४ सय ७२, दान पेटीकामा ३५ लाख ४४ हजार २ सय ९० गरी जम्मा ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको छ।
कोटिहोममा राखिएका ११ हजार कलश मध्ये अहिले सम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेको वहाँले जानकारी दिनुभयो । कोटिहोम सकिना साथ पत्रकार सम्मेलन गरेर सम्पूर्ण आय व्यय सार्वजनिक गर्ने संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गर्नुभयो।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहनुभएको। वहाँले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहनुहुने भएको छ।
पोखरा जारी कोटिहोमबाट अन्य प्रदेशमा पनि कोटिहोम सञ्चालन गर्ने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले घोषणा गर्नुभएको छ। काठमाडौं पछि पोखरामा भएको कोटिहोम देशभरका सातै प्रदेशमा गर्ने तयारी छ। वहाँका अनुसार २०८२ मङ्सिरमा कोसी प्रदेशमा ऐतिहासिक श्री कोसी कोटिहोम विराट ज्ञान महायज्ञमा, २०८२ फागुनमा २ नं प्रदेशमा श्री मिथिला कोटिहोम विराट ज्ञान महायज्ञ हुँदैछ।
त्यसैगरी २०८३ को वैशाखमा लुम्बिनी प्रदेशमा ऐतिहासिक श्री लुम्बिनी कोटिहोम विराट ज्ञान महायज्ञ, २०८३ मङ्सिरमा सुदूर पश्चिममा प्रदेशमा ऐतिहासिक श्री गोदावरी वैद्यनाथ कोटिहोम विराट ज्ञान महायज्ञ, २०८३ फागुनमा कर्णाली प्रदेशमा श्री कर्णाली कोटिहोम विराट ज्ञान महायज्ञ, २०८४ को वैशाखमा पोखरामा अति रुद्र विश्व कल्याण विराट ज्ञान महायज्ञ हुने भएको छ।
यी सबै महायज्ञ पश्चात् २०८४ साउन र भदौमा काठमाण्डौमा विशाल १ हजार ८ कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ हुने भएको वहाँले जानकारी दिनुभयो । त्यस्तै २०८४ को माघ महिना चितवनमा कोटिहोम विराट ज्ञान महायज्ञ हुने भएको छ।
त्यसै गरी ७७ जिल्लाका पवित्र तीर्थ स्थल, मन्दिर परिसर, आध्यात्मिक ऊर्जा सम्पन्न स्थलहरूमा १ सय ८ भागवत महापुराणको सङ्कल्प अनुरूप केही समय भित्र भागवत सप्ताह हवन रुद्राभिषेक यज्ञ शाल निर्माण र महायज्ञलगायतका कार्यक्रमहरू क्रमशः सञ्चालन गरिने भएको छ।
कोटिहोमाको उत्तरार्ध तर्फ आउँदै गर्दा मानव सेवा फाउन्डेसनको आजीवन सदस्य बन्ने भक्तजनको सङ्ख्या बढ्दै गएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो। मानव सेवा फाउन्डेसनको आश्रममा रहेका अनाथ वालवालिकाको अभिभाव बन्न १ लाख, शिलालेखमा नाम लेखाउनका लागि ५० हजार र आजीवन सदस्य बन्नका लागि २५ हजार सहयोग गर्ने व्यवस्था रहेको छ।