काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको २५६९ औं बुद्ध जयन्ती विविधि कार्यक्रम गरी मनाइएको छ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बौद्ध दर्शन महत्वपूर्ण रहेको बताउँदै समाजको विकासको लागि दिगो शान्ति, सुशासन, सदाचार आवश्यक रहेको बताउनुभयाे । ‘बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित मनाईएकाे विशेष बुद्ध जयन्ती कार्यक्रमले शान्तिकाे उर्जा प्रदान गरेकाे र शान्तिको माध्यमबाट नै समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री लामाले बताउनुभयाे ।
कार्यक्रमस्थलमा भगवान बुद्धको अष्टधातु दर्शनका लागि राखिएको थियो । समितिका अध्यक्ष राजकुमार लामाको सभापतित्वमा भएको कार्यक्रममा अर्थ समिति सभापति सन्तोष चालिसे, पूर्व मन्त्री कान्छाराम तामाङ, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, जापानका लागि पूर्व राजदुत गणेश योञ्जन, विभित्र संघ संस्थाका प्रतिनिधिलगायतका बौद्ध धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो ।
बुद्ध जयन्तीको अवसरमा समितिकाे संयाेजकत्वमा ७७ वटा संघसंस्थाकाे उपस्थितिमा सांस्कृतिक झाँकी,विभित्र समुदायकाे बाजागाजा,भेषभुषा सहितको शान्ति र्याली महाँकालबाट शुरु भई तीनचुली,फुलबारी, बौद्धनाथ परिक्रमा गरि टुसाल हुँदै हायात ग्राउण्डस्थित कार्यक्रम स्थलमा पुगेर औपचारिक कार्यक्रममा सुरू गरिएको थियाे ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भू, नमो बुद्धलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्वीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । ईसापूर्व ५६३ अर्थात आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए ।
३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए । बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ ।

