टोकियो । नेपाली पत्रकारहरुको साझा अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखा गठन भएको छ । अमेरिकामा प्रधान कार्यालय रहेको अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखाको अध्यक्षमा उत्तम प्रसाद गौडेल चयन भएका छन् ।
महासंघको प्रधान कार्यालय अमेरिकाबाट जारी प्रेस विज्ञप्तीमा गौडेलको अध्यक्षतामा सात सदस्यिय कार्यसमिति गठन गरिएको उल्लेख छ । अध्यक्ष गौडेल एभिन्युज टेलिभिजनका जापान व्यूरो प्रमुख तथा एक्स्क्लुसिभ न्युज टाइमका प्रधान सम्पादक समेत हुन् ।
यसैगरि उपाध्यक्षमा गोकर्ण अधिकारीलाई चयन गरिएको छ । नेपालका विभिन्न रेडियो तथा पत्रिकामा कार्य गरिसकेका पत्रकार अधिकारी हाल कारोबार दैनिकका जापान संवाददाता तथा जापानबाट संचालित जापानसमाचार डटकमका प्रधान सम्पादक हुन् । महासचिवमा मुक्ती सुबेदीले जिम्मेवारी पाएका छन् । सुबेदी राज्य टेलिभिजनको हाल जापान प्रतिनिधिको रुपमा कार्यरत छन् ।
सचिवमा नागरिक दैनिकका जापान व्युरो प्रमुख नारायण रिमाल रहँदा कोषाघ्यक्षमा एक्सक्लुसिभ न्युज टाइमका अनलाइन कार्यक्रम संयोजक संगिता कुवरलाई चयन गरिएको छ ।
यसैगरि सदस्यमा जापानसमाचार डटकमका सम्पादक जगत बहादुर खड्का ज्याक र हेर्ने कुरा बाट लक्ष्मण पाठक चयन भएका छन् ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका केन्द्रले जापान शाखालाई केन्द्रसँग सम्वन्वय गर्दै संस्थाको नीति, नियम र बिधान अनुसार कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखाले छिट्टै औपचारिक रुपमा जापान शाखा गठन बारेमा जानकारी गराउने अध्यक्ष उत्तम गौडेलले जानकारी गराएका छन् ।