सोमबार, असार ०९, २०८२

एनआरएनए महाधिवेशन विवादमै सम्पन्न, अध्यक्षमा महेश श्रेष्ठ चयन

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए शेष घले समुहको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले जापानका महेश श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै महाधिवेशन सम्पन्न भएको हो ।

एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
समितिका संयोजक शेष घलेले गराएको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठ अध्यक्ष चयन भएका छन् । यसअघि नै ११ औँ महाधिवेशनबाट एमाले समर्थित भनिएका डा बद्री केसी अध्यक्ष छन् ।

एनआरएनएको आधिकारिकता हालसम्म  केसी नेतृत्वको एनआरएनएसँगै रहेको छ भने सोही कमिटीले संघको बालुवाटारस्थित कार्यालयबाटै गतिविधि गर्दै आएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको दबाबमा सर्वसम्मत्तिको नाममा कांग्रेस निकट श्रेष्ठलाई अध्यक्ष बनाइएको हो । एनआरएनएको आगामी बाटो सहज भने नरहेको बताइन्छ । घलेले गराएको एकता महाधिवेशन अवैधानिक भएको भन्दै अझैपनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।
११ औँ महाधिवेशनमा श्रेष्ठ केसीसँग पराजित बनेका थिए । ११ औँ महाधिवेशन समेत विवादित भएपछि श्रेष्ठ र आरके शर्मा समूह एक ठाउँमा भएर आरके शर्माको नेतृत्वमा केसीविरुद्ध गतिविधि हुँदै आएको थियो ।

श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिल कुमार साह, मनोज कुमार श्रेष्ठ, विश्वास लिम्बु र बुद्धिसागर सुवेदी चयन भएका छन् । यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ चयन हुँदा महासचिवमा बाबुराम लामा चयन भएका छन् । यस्तै सचिवमा टंक गैरे, चिन्तामणि सापकोटा, तिलक गैरे, देवकी गुरुङ चयन हुँदा कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना सर्वसम्मत भएका छन् । यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल चयन भएका छन् ।  युवा संयोजक, क्षेत्रीय संयोजक, उपसंयोजकलगायतका पदमा पनि निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले जानकारी दिए ।
आके शर्माले मध्यपूर्व सधैँ संघको नेतृत्वमा पुग्नबाट हेपिएको बताएका थिए । परराष्ट्रमन्त्री आरजु राणा देउवाले उद्घाटन गरेको महाधिवेशनमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ ।