टोकियो । नेपाली जनप्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।
आइतबार नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको तथ्यलाई थप स्थापित गर्न आग्रह गर्दै सो कुरा व्यक्त गरेका हुन् ।
जापानमा रहेको मञ्चले विश्व भर रहेका मञ्चहरूलाई थप सक्रिय गराउन र पार्टीले गरेका हरेक निर्णय कार्यान्वयन गराउन खेलेको भुमिकाको बारेमा प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले भने- पार्टीले संचालन गरेका अभियान होस वा निर्वाचनका क्रममा होस जापानमा रहेको मञ्चले आर्थिक नैतिक प्रचारात्मक र सांगीतिक हरेक कोणबाट महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।
समसामयिक राजनीतिको प्रसंगमा आफनो धारणा राख्दै अध्यक्ष प्रचन्डले सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनले बताए । “हामी राम्रो काम गर्दै थियौँ, तर उनीहरूले हाम्रो सरकार हटाइदिए। तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन्। हामीले प्रचारप्रसार गर्नै परेन। मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ। ठुलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो। यो कुरा जनताले राम्रोसँग बुझेका छन्,” उनले भने ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेस जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताउदै भने- हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेस जागरण अभियानमा क्रियाशील छौँ। अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति सक्रिय छ। हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबिचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौँ। यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ। जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्।”
राजावादीले राजा फर्काउने हजारौँ वर्ष तपस्या गरेपनि राजा फर्किन सम्भव नरहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पार्टी एसिया प्रदेश संगठन समितिका इन्चार्ज ओम शर्माले बताएका छन ।
आइतबार नागोयामा सम्पन्न नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई प्रमुख अतिथिकों रूपमा सम्बोधन गर्दै शर्माले राजावादीहरुले जतिसुकै तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव नरहेको बताएका हुन।
‘राजावादीले राजा फर्काउने भनिरहेका छन् । तर हजारौँ वर्ष तपस्या गरेपनि राजा फर्किन सम्भव छैन । यो स्याल हुइयाँ मात्रै हो’, उनले भने । उनले माअोवादी जनतातिर फर्किएको उल्लेख गर्दै समाजवादको बाटो क्लियर गरेको समेत बताए ।
यस्तै शर्माले खाडी र एसियामा पार्टीको संगठन सशक्त बनाउन समेत आग्रह गरे । मुख्य नेतृत्वको निर्देशन र संस्थापकहरूलाई साथमा लिएर उनीहरूको अविभावकत्व ग्रहण गर्दै एकताबद्ध भई संगठनलाई अगाडी बढ़ाउनु आजको आवश्यक रहेको कार्यक्रममा बोल्ने वक्ताहरूको सुझाव रहेको थियो ।
यसरी बोल्ने वक्ताहरुमा पार्टी एसिया प्रदेश संगठन समितिका सह संयोजक डा भूपालमान श्रेष्ठ, पार्टी एसिया प्रदेश संगठन समितिका सचिब भवानी पन्त, प्रवास समन्वय समितिका सदस्य हवलचन्द्र लामा, रामहरि पुड़ासैनी,सालिकराम भण्डारी एनआरएनए जापानका अध्यक्ष नविन निउरे, नेपाली व्यवसायी संघ जापानका उपाध्यक्ष नरबहादुर थापा, मञ्चका पूर्व अध्यक्ष मोहन खत्री, एनआरएनएका आइसीसीका अभियन्ता गोविन्द श्रेष्ठ रोविन्द, नेपाली समाचारपत्रका प्रधान सम्पादक तथा मञ्चका सल्लाहकार तिलक मल्ल, मञ्चका लेखा अनुशासन तथा अनुगमन आयोगका संयोजक अर्जुन ढकाल, जेनी लगायत रहेका थिए।
सभाले मञ्चको मौजुदा विधानलाई संशोधन समेत गरेको छ। सभामा मञ्चका ओकिनावा, कान्साई, कान्तो, सेन्दाइ, गुन्मा तोचिगी, नागोया क्षेत्रीय समितिहरुले गरेको कार्यको प्रगति प्रतिवेदन पेश गरिएको थियो भने कोषाध्यक्ष गौरी सापकोटा र महासचिव दावा लामा शेर्पाद्वारा पेश गरिएको राष्ट्रिय समितिको वार्षिक आयव्यय र सांगठनिक प्रतिवेदन समेत पारित गरिएको थियो ।
नागोया क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा सम्पन्न साधारण सभाको अध्यक्षता मञ्चका राष्ट्रिय अध्यक्ष मोहन पौडेलको अध्यक्षता महासचिव दावा लामा शेर्पाको सञ्चालन र वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डेको स्वागत मन्तब्यसहित कार्यक्रम सम्पन्न भएको थियो।