मङ्गलबार, चैत ११, २०८१

‘यो सरकार राति ढल्छ,भोलि बिहानै ढल्छ भनेर मिति तोकेका तोकेकै छन्,ढुक्क भए हुन्छ,८४ अघि ढल्दैन’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनपछि मात्र सरकार परिवर्तन हुने बताएका छन् ।

मंगलबार पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनपछि मात्र सरकार ढल्ने बताएका हुन् । माओवादी अध्यक्ष प्रचण्डले सरकार छिटै ढल्नै बताइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाई आएको हो ।

प्रधानमन्त्रीले भने, ‘यो सरकार राति ढल्छ, भोलि बिहानै ढल्छ, यो साता ढल्छ अर्को महिना सरकार ढल्छ भनेर मिति तोकेका तोकेकै छन् । यो गठबन्धन सरकार २०८४ मंसिरको निर्वाचनपछि मात्र ढल्छ ।’

उनले संसदमा अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत हुने पार्टीका सांसदहरुलाई निर्देशन दिए । उनले जनताका कुरा संसदमार्फत राख्ने भएकाले सत्य र तर्कसंगत कुरा बोल्न नहिच्किचाउन निर्देशन दिए ।

प्रधानमन्त्रीले सरकारले ल्याएको अध्यादेशले २९ वटा कानुनलाई छोएको जानकारी दिँदै ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याएर कानुन बनाउने बताए। अध्यादेशमा केही छुटपुट भए संसदमार्फत सच्याउने प्रतिबद्धता उनले व्यक्त गरे।