बुधबार, माघ १६, २०८१

रबिन शर्माको कृति ‘देउता बनाउने कारखाना’ को कर्मभूमि जापानमा लोकार्पण हुँदै

टोकियो । जापानलाई कर्मभूमि बनाएका कवि रविन शर्माको पहिलो कविता संग्रह ‘देउता बनाउने कारखाना’ बजारमा ल्याएका छन्।

प्रवासमा बसेर पनि नेपाली भाषा र साहित्यको सम्बर्धन र प्रवर्धनमा सक्रिय सर्जक शर्माको यस कृतिको कर्मभूमि लोकार्पण यहि जनवरी २६ तारिखका दिन जापानको टोकियोमा हुँदैछ।

अनेसास जापान च्याप्टरको आयोजनामा हुन लागेको यो कार्यक्रम दिनको १ बजेबाट सुरु हुनेछ।सानैदेखि साहित्यमा रुचि राख्ने र लेखन तथा वाचनमा दखल राख्ने कवि रविन शर्माले सो अवसरमा आफ्ना केही नवीन र उत्कृष्ट कविताहरू वाचन गर्नेछन्।

‘देउता बनाउने कारखाना’ को मातृभूमि लोकार्पण भने गत २०८१ मंसिर २२ गते शनिबार पर्वतको चुवा स्थित मंगलोदय माविमा सम्पन्न भएको थियो।
हाल टोकियोलाई आफ्नो कर्मथलो बनाइरहेका रविन शर्मा अनेसास जापान च्याप्टरका निवर्तमान अध्यक्ष हुन् भने अहिले अनेसास केन्द्रीय कार्यसमितिको सचिवको रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन्।

‘देउता बनाउने कारखाना’ लाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिंगटन डिसीले प्रकाशकका रूपमा बजारमा ल्याएको हो। छोटो समयमै चर्चाको शिखरमा पुगेको यस कविता संग्रहले विशेष गरी प्रवासको विविध आयामहरूलाई उजागर गर्नुका साथै घरदेश र परदेशको भावनात्मक सम्बन्धलाई सरल र प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

कविता र साहित्यमा रुचि राख्ने सबैलाई यस लोकार्पण समारोहमा सहभागिता जनाउन अनेसास जापानले अपिल गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया