शुक्रबार, कार्तिक २३, २०८१

विश्वको उच्च स्थानमा रेस्लिङ गरेर भगवतीले लेखाईन ‘वर्ल्ड बुक अफ रेकर्डस्’ मा कीर्तिमान

काठमाडौँ । नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिका नाम ‘वर्ल्ड बुक अफ रेकर्डस’ लन्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो ।

गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा भएको उक्त रेस्लिङ प्रतियोगिता भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बिच भिडन्त भएको थियो । उक्त खेलमा भगवती विजयी भएकी थिइन् । सोही गतिविधिका कारण भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्डस् समावेश गरिएको हो ।

रामेछापको गेलूमा जन्मिएर रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड भएको भगवतीले जानकारी दिइन् । उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् ।
अल अराउन्ड ट्रेक्सका एमडी सोनम शेर्पाले कार्यक्रमका लागि सहजीकरण गरेका थिए । वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक कार्यक्रमबिच प्रमाण पत्र हस्तान्तरण गरे ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कीर्तिमानका निवेदन दिएको र रिजल्टको पर्खाईमा रहेको भगवतीले जानकारी दिईन ।