मङ्गलबार, चैत ११, २०८१

उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै ‘गोदावरी’

उपत्यका नजिकैको उत्कृष्ट पर्यटकीय गन्तव्य हो गोदावरी । जंगलमा सुनिने रंगीविरंगी चराहरुको चिरविर आवाज र कलकल गर्दै बग्ने नदिको चिसो पानीलाई स्पर्श गर्दा जोकोही रोमाञ्चित हुन्छन् । ललितपुरको सातदोबाटो चोकबाट ७ किलोमिटर दूरीमा रहेको गोदावरी प्राकृतिक सौन्दर्यताका लागि पनि उत्तिकै उत्कृष्ट ठाउँ मानिन्छ ।

प्राकृतिक सौन्दर्यता मात्र नभई ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पौराणिक रुपमा प्रसिद्धि कमाएको गोदावरीमा वनस्पति तथा पुष्प उद्यान पर्या–पर्यटनका लागि उपयुक्त गन्तव्य हो । गोदावरीमा गौतम ऋषिको कुटी, बाह्र बर्षे सिंहअस्त मेला लाग्ने गोदावरी कुण्ड, लाम कुण्ड, गौरी कुण्ड, नौधारा, पञ्चदेवल र सिद्धेश्वर महादेवको मन्दिर, गोदावरी बौद्धदेवी फूलचोकी माई, मार्बल डाँडा, प्राचीन बुद्धगुम्बा जस्ता ऐतिहासिक धार्मिकस्थलका साथै पिकनिक र पारिवरिक रिफ्रेसका लागि उपयुक्त ठाउँहरु रहेका छन् ।

ढकमक्क फुलेका फूल, विभिन्न जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैंचा र जंगलले घेरिएको गोदावारी पक्कै पनि प्राकृतिक सौन्दर्ययुक्त छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको गोदावारीमा पदयात्रा सँगसँगै विभिन्न गीत र फिल्मको सुटिङका लागि पनि उत्कृष्ट ठाउँ रहेको छ ।

पर्यटकहरुको भिड
उपत्यका नजिक रहेकाले यहाँ घुम्न दिनहुँ हजारौं मानिस आइरहेका हुन्छन् । गेदावरीको शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरबिर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ । यहाँको प्राकृतिक हराभरा, साँस्कृतिक एव धार्मिक सम्पदा, पहाडले पर्यटकलाई लोभ्याउने गरेको छ ।

सडकको सहज पहुँचले पछिल्लो समय यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो छ । गोदावरी नगरपालिका–३ मा पर्ने यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटकको आकर्षकका लागि वडाले पूर्वाधार निर्माणसँगै फोटो खिच्नका लागि We love Godawari नामक स्ट्यान्ड बनाएको छ ।

वडाध्यक्ष राज घिमिरे भन्छन्,“गोदावरी पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, पहिलेदेखि नै निकै चर्चित भएपनि पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको थियो, हामी निर्वाचित भएर आएपछि पूर्वाधार निर्माणलाई जोड दिएका छौँ, पर्यटक आकर्षणका लागि यहाँ We love Godawari नामक स्ट्यान्ड बनाएका छौँ, गोदावरी प्रेम जोडीका लागि प्रेम व्यक्त गर्ने उत्तम गन्तव्य पनि मानिन्छ, त्यसैले यस ठाउँमा माया प्रेम साट्नेहरुले गोदावरीलाई पनि माया गरुन् र उनीहरुले We love Godawari भनेर सामाजिक संजालमा पोष्ट गर्दा पनि अटो मार्केटिङ भई पर्यटक भित्र्याउन ठूलो मद्दत पुग्नेछ ।”

गोदावरीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न पर्यटन पूर्वाधार निर्माणलाई जोड दिएको उनको भनाइ छ । आगामी दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित पर्यटकीय गन्तव्यसँग जोड्न पहल भइरहेको अध्यक्ष घिमिरेको भनाइ छ । गोदावरीमा दैनिक १२ हजार पर्यटक आउने गरेको उनी बताउँछन् । गोदावरी वडा नम्बर तीन देशकै उत्कृष्ट पर्यटकीय नमुना वडा भएको बताउँदै उनले आफ्नो वडा र यहाँको पर्यटकीय विकासप्रति देशका प्रभुत्व व्यक्तीहरुकै ध्यान केन्द्रीत भएको बताए ।

गोदावरी बसपार्क नजिकै रहेको टहरा पसलहरु भएको ठाउँमा पनि अब करिब दुई महिना भित्रै स्मार्ट पसल संचालनमा आउने वडाध्यक्ष घिमिरेले बताए । एक करोड बिस लाख बजेट विनियोजन गरी सम्झौता भई काम सुरु भईसकेकाले आगामी दिनमा यस क्षेत्र उत्कृष्ट बन्ने बताउँदै खेलप्रेमीहरुका लागि फुटबल ग्राउण्ड, गोदावरीको कला संस्कृती जोगाउन ढुङ्गे धारा, बस पार्कमा चार्जिङ स्टेसन, स्मर्ट शौचालय, सुरक्षाका लागि सिसि क्यामेराहरु थप्दै प्रहरी बिट बनाउनका लागि बजेट बिनियोजन गरिसकेको उनी बताउँँछन् ।

गोदावरी सरोकारकी अध्यक्ष बेबी राभण्डारीले उपत्यका नजिकै र सडक राम्रो हुँदा गोदावरी आउने आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको बताईन् । गोदावरी वडा ३ लाई सबै मिलेर देशकै नमुना वडा बनाउने बताउँदै उनले बस्नको लागि आरामदायी होटल, रिसोर्ट तथा रेस्टुरेन्टको सुविधा भएपनि पौडोलको तामाङ समुदायमा घरबास (होमस्टे) सञ्चालन भएसंगै पर्यटकलाई सहज हुने बताईन् । अध्यक्ष राभण्डारी भन्छिन््,“पर्यटनको क्षेत्रमा केही गरौं भनेर महिलाहरु जगुरुक भएका छन् । गोदावरी महिला सामुदायीक होमस्टे संचालन भएको छ, महलिाहरु क्ृषिमा लागेका छन्, उद्यमी भएका छन्, त्यससंगै युवाहरु प्नि जागरुक भएको देखिन्छ । जेष्ठ नागरिकहरुले आफ्नो क्षेत्रबाट विभिन्न कामहरु गर्नुभएको छ । त्यसैकारण आगामी दिनमा हाम्रो गोदावरीको एक दिन छुट्टै पहिचान बन्नेछ ।”

पर्यटकीय महत्व
प्रकृतिले वरदानको रूपमा प्राप्त गोदावरी क्षेत्रलाई यहाँ अवस्थित ‘शाही वनस्पति उद्यान’ पुरानो नामले अझ गहन र व्यापक बनाइदिएको छ । गोदावरीमा अवस्थित वनस्पति उद्यान एक प्राकृतिक खुला अन्वेषण र अनुसन्धानशाला भएको हुँदा विभिन्न जातजातिका वनस्पतिलाई सङ्कलन गरी व्यवस्थित रूपमा राखिएका छन् । नेपालकै एक मात्र राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा वनस्पतिहरू अनुसन्धानसहित सङ्ग्रहालयको रूपमा राखिएका छन् । यहाँ तन्तु प्रजनन प्रविधिबाट कृत्रिम तरिकाले बोटबिरुवा, वनस्पति तथा बिउहरू हुर्काउने प्रविधिको विकास समेत वि.सं. २०३४ सालदेखि नै हुँदै आएको छ । यहाँ संरक्षण तथा शैक्षिक उद्यानसमेत रहेको छ । यहाँ गोदावरी पूmललाई बाह्रै महिना फुलाउने प्रविधिको विकास गरी बाह्रै महिना गोदावरी पूmल फुलेको देख्न पनि पाइन्छ । जसले गोदावरी नामलाई अझ जिउँदो बनाएको छ ।

प्राकृतिक सौन्दर्य/सम्पदा

गोदावरी जैविक विधिधताले भरिपूर्ण सुन्दर पर्यटकीय क्षेत्र हो । यहाँका बगैचामा बाह्रै महिना ढकमक्क फूल फुल्छन् । जंगलमा सुनिने रंगीविरंगी चराहरुको चिरविर आवाज र कलकल गर्दै बग्ने नदिको चिसो पानीलाई स्पर्श गर्दा जोकोही रोमाञ्चित हुन्छन् । गोदावरीको रमणीय प्राकृतिक छटासहित अद्वितीय गुणले भरिएको गोदावरी क्षेत्रमा शान्तिका प्रणेता भगवान् गौतम बुद्धको २५ फिट अग्लो विशाल प्रतिमूर्ति स्थापित छ ।

अति सुन्दर मौसम मानिने गोदावरी क्षेत्र अन्यत्र नपाइने वनस्पति एवं वन्यजन्तु, चराचुरुङ्गी, पुतली जस्ता प्रकृतिका वरद उपहारले भरिएको प्राकृतिक खुल्ला सङ्ग्रहालय हो । खनिजजन्य वस्तुहरू (फलाम, मार्बल) को प्रचुर भण्डार रहेको गोदावरी क्षेत्र जीव जन्तु, वनस्पति आदि सबैको समागम स्थल हो ।

फुलचोकी हाइकिङ
काठमाडौँको धुलो, धुवाँ र फोहोरबाट आक्रान्त मानिसहरु प्रायः नजिकैका पहाडहरुमा पुगेर अनन्दको सास फेर्न चाहन्छन् । त्यसमाथि काठमाडौँ आसपासका पहाडहरु प्रकृतिमय मात्रै छैनन्, देशको उत्तरी भेगमा टल्किने हिमालहरु हेर्नको लागि पनि सहज छन् । त्यसैले राजधानीका मानिसहरु फुर्सदको समयमा एक्लै होस् या जोडी बाँधेर पदयात्राको लागि त्यस्ता ठाउँहरुमा निस्कने गर्छन् ।

प्राकृतिक रुपले भरिपूर्ण रहेका फुलचोकी पछिल्लो समय पदयात्राका लागि धेरै पर्यटकहरुको आकर्षक गन्तव्य बनेको छ । हरियालीमा रमाउन पाउनु र विभिन्न वन्यजन्तुहरु नियाल्न पाउनु फूलचोकीको प्रमुख विशेषता हो। हिउँदमा हिउँ पर्ने भएकोले यो क्षेत्र हिउँमा लडीबुडी गर्न रुचाउनेहरुको लागि पनि उपयुक्त हुन सक्छ। यहाँ बौद्धमार्गीले पनि पूजाआजा गर्छन् । विशेषतः धलं दनेगु विशेष पूजा पनि गर्ने चलन छ ।

फूलचोकी काठमाडौ उपत्यकालाई घेरेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका हिम श्रृङखलाको पनि दृश्यावलोकन गर्न सकिन्छ । विभिन्न प्रजातिका रुख, विरुवा, अनगिन्ती जडीबुटी, थरिथरिका फूल, चराचुरुङ्गी, बाँसघारी, स्वच्छ हावा, सफा वातावरण, मनै लोभ्याउने हिमालका दृश्यहरुले सबैको मन प्रभावित बनाउन सक्छ । स्वच्छ हावापानी र प्राकृतिक सौन्दर्यको रसास्वादन गर्दै यहाँको प्रकृतिसँग हराउने पर्यटकहरू लाखौँको सङ्ख्यामा आउने गर्दछन् ।