शनिबार, बैशाख १५, २०८१

नेपालमा जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट सम्पन्न, प्रथम भईन रविना गोले

काठमाडौं । जापानीज ल्याङ्ग्वेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान)ले नेपालमा जापानी भाषा, संस्कृति र शैक्षिक प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले ‘जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट’ सम्पन्न गरेको छ ।
जाल्सानले माघ २७ गते शनिबारका दिन राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी सफलतापूर्वक नवौं जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा विभिन्न जापानीज भाषा तथा शैक्षिक परामर्श प्रदान गर्ने १२ वटा संस्थाहरुबाट १२ जना विद्यार्थीले भाग लिएका थिए । जसमा मिसाकी जापानीज एण्ड इन्टरनेशनल ल्याङ्ग्वेज एजुकेशन सेन्टरबाट भाग लिएकी रविना गोले प्रथम भएकी छन् । द्वितिय हुनेमा हाकुहो जापानीज ल्याङ्ग्वेज स्कुलबाट आयुष कंसाकार रहेका छन् । त्यस्तै सगरमाथा जापानीज ल्याङ्ग्वेज इन्ष्टिच्युटबाट पारसमणि दाहाल तृतीय भएका छन् ।
प्रथम, द्वितिय र तृतीय हुनेलाई पुरस्कार स्वरुप क्रमशः शिल्डसहित ल्यापटप, ट्यावलेट र मोवाइल प्रदान गरिएको छ । साथै सहभागिहरुलाई सान्त्वना पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरिएको छ ।
उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीको वाक क्षमता अभिवृद्धि गर्न तथा जापानीज भाषा, कला संस्कृति, परम्परा र शैक्षिक प्रणालीबारे पूर्ण जानकारी हुन सकोस् भन्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जाल्सानका अध्यक्ष रमेश देवकोटाले जानकारी दिए ।

अध्यक्ष देवकोटाले जापानमा पढ्न जाने विद्यार्थीलाई शिक्षा मन्त्रालयबाट दिइने एनओसीमा समस्या भइरहेकाले यसको समाधानको लागि पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि जापानी राजदूत किकुता युकुताको ध्यानाकर्षणसमेत गराए ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत युकुताले जाल्सानले जापानीज भाषा, संस्कृति र परम्पराको संवद्र्धनमा विगतदेखि पुर्याउँदै आएको योगदानको चर्चा गर्दै खुशी व्यक्त गरे । उनले जापानीज शिक्षा हासिल गर्ने प्रक्रियामा भइरहेको केही कठीनाइहरुको पहिचान गरी समाधानको लागि पहल गर्ने बताए ।
राजदूत युकुताले जापानीज भाषा वक्तृत्वकला प्रतियोगितामा भाग लिने विद्यार्थीहरुको प्रशंसा गर्दै राम्रो प्रस्तुती रहेको बताए । जापानीज दूतावासको आफ्नै आधिकारीक फेसबुक पेजमा जापानको शिक्षा, भाषा, कलासंस्कृति र परम्पराबारे अधिक जानकारी समेटिएको बताउँदै उनले विद्यार्थीहरुलाई उक्त फेसबुक पेज हेर्न र अध्ययन गर्न पनि आग्रह गरे ।

कार्यक्रममा उपस्थित विद्यार्थी, प्रतियोगी, संस्थाका व्यवसायी सदस्य तथा अतिथिहरुलाई सम्बोधन गर्दै जाल्सानका महासचिव अरुण पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने सचिव महेश श्रेष्ठ र सदस्य मेरिया खड्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।