बिहिबार, बैशाख ०३, २०८३

भुम्लुको योग खेलबाट मुलुकले पाठ सिक्न आवश्यक,१० औँ राष्ट्रिय प्रतियोगितामा समावेश गर्न पहल गर्छु: मन्त्री लिम्बु

काभ्रे । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले योग खेललाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न आफुले पहल गर्ने बताएका छन् ।

जिल्लाको भुम्लु गाउँपालिकामा आज पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रयोगिताको उद्घाटन गर्द मन्त्री लिम्बुले भुम्लु गाउँपालिकाले योग खेलमा गरेको प्रगतिको प्रशंसा गर्दै योग खेललाई ब्रान्डिङ गर्ने बताए । उदाहरणका रुपमा देशभर भुम्लु गाउँपालिकाबाट सिक्नु पर्ने उनको भनाई थियो ।

विद्यालय तहबाटै योग खेलको शुरु गरेर भुम्लु गाउँपालिकाले एउटा नमुना प्रस्तुत गरेको बताउँदै मन्त्री लिम्बुले यसलाई अझ परिस्कृत बनाउन जरुरी रहेको बताए । यस्तै। उनले शिक्षा, खेलकुद जस्ता क्षेत्रमा राजनीति नगर्न समेत आग्रह गरे ।

पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले विभिन्न कठिनाईका बीच विद्यालय तहबाटै योग शिक्षा शुरु गरिएको जानकारी दिदैं आफुहरुले खेल र नृत्य शिक्षक ल्याउनलाई समेत प्रयास गरिरहेको बताए । शिक्षा र खेलकुदलाई सँगसँगै लैजाने गाउँपालिकाको नीति अनुरुप काम भैरहेको उनी बताउँछन् ।

यस्तै, पालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अगामी दिनमा अझ ब्यवस्थित बनाउँदै जाने बताए । यस प्रतियोगिता खेलकुदको कुम्भ मेला जस्तै भएकाले पालिकाभित्रका सबै विद्यालयका खेलाडी एकै ठाउँमा जम्मा भएर प्रतिस्पर्धा हुने उनको भनाई छ । निकै टाढा टाढाबाट आउनु पर्ने भएकाले प्रतियोगिता अवधिभर सबै खेलाडीहरुलाई खाने र बस्ने ब्यवस्था पालिकाले नै गरेको समेत उपाध्यक्ष तामाङले जानकारी दिए ।कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने र विद्यालयबाटै भविष्यका खेलाडीहरु उत्पादन हुने गरेको बताउँदै यो ३ दिने खेललाई एकदमै महत्वका साथ लिएको उनले बताइ ।

प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयका ७ सयको हाराहारिमा खेलाडी सहभागी छन् । भलिबल, कबड्डी र एथ्लेटिक्सका गरी जम्मा १३ वटा विधा अन्तर्गत छात्र र छात्रा गरी २६ वटा खेल हुने छ । उद्घाटन सत्रमा वडा नम्बर ३ बेगसिम्लेमा रहेको वनदेवी माध्यामिक विद्यालय र वडा नम्बर ८ मा रहेको प्रकाश माध्यामिक विद्यालयका विद्यार्थी योग खेल प्रदर्शन गरेका थिए । प्रतियोगिता आगामी शनिबार सकिने बताइएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक अञ्जल कुमार मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थित रहेका ेथियो ।