शनिबार, बैशाख १९, २०८३

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

गण्डकी । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणाका लागि थप पहल लिएको हो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय उक्त अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिन तयारीमा जुटेको छ ।

पर्यटन विज्ञसहितको अध्ययन समितिलाई पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, घोषणाको प्रक्रिया पहिचान र सङ्घ सरकारसँगको समन्वय गर्ने कार्यादेश तोकिएको थियो । समितिले तयार पारेको अध्ययन प्रतिवेदनलाई यही पुस २६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिने उनले बताए ।

नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको नीतिलाई कार्यान्वयन गर्न समितिले अध्ययन थालेको उनको भनाइ छ ।

पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने सम्बन्धमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यसअघि तयार पारेको अवधारणापत्रलाई आधार मानेर समितिले थप अध्ययनको काम गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले समितिको अध्ययन प्रतिवेदन आएपछि सोअनुसार पर्यटकीय राजधानीको घोषणाका लागि आवश्यक पूर्वाधार तयारीका काममा प्रदेश सरकार केन्द्रित हुने बताए । मन्त्री थापाले पोखरालाई पर्यटकीय राजधानी बनाउन गण्डकी प्रदेश आफँै पनि सक्षम र तम्तयार रहनुपर्ने धारणा राखे ।

मन्त्री थापाले पोखरा विश्वमै ख्याति कमाएको पर्यटकीय गन्तव्य भएकाले गुणस्तरीय सेवा र पूर्वाधारमा ध्यान दिनुपर्ने बताए । प्रदेशको समृद्धिको पहिलो आधारका रुपमा पर्यटन क्षेत्रलाई लिइएकाले पर्यटकीय राजधानी घोषणाले पर्यटनमा स्रोतसाधनको पहुँच र लगानी विस्तार हुने उनको भनाइ छ ।

पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वर्षौं भइसकेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पूर्वाधार सम्पन्न पर्यटन गन्तव्य रहेकाले पर्यटकीय राजधानी घोषणाको माग गरिएको बताए ।

पर्यटकीय गतिविधि, सहज पहुुँच, पर्यटकीय सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ बताउँछन् ।

हिमाल र तालतलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल लगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जीजम्प, केबलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन् । उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन् । तालतलैयाको सहरको उपमा पनि पोखरालाई दिइन्छ ।

फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन् । प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ ।

प्राचीन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटक लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ ।

पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुवै मार्गबाट सहजरुपमा पोखरा आवतजावत गर्न सकिने सुविधा छ ।

पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ । पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि पर्याप्त रहेका छन् ।

बैंक, एटिएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउन्टर उपलब्ध छन् । सङ्कटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्टर सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन् ।

पर्यटकको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक सङ्गठन क्रियाशील छन् । पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन् । प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ । पर्यटनका यिनै प्रचुरताका कारण पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने आवाज उठ्दै आएको हो ।

नेपाल आउने विदेशी हुन् या स्वदेशी पर्यटक कम्तीमा एकपटक पोखरा जान नै खोज्छन् । स्वदेशी अर्थात् आन्तरिक पर्यटक त एकपटक मात्र पोखरा पुगेर अघाउँदैनन् । कलेज या विद्यालयका विद्यार्थीको शैक्षिक भ्रमण होस् या अन्य विभिन्न सङ्घसंस्था या व्यक्तिको घुमघामको कार्यक्रम सबैभन्दा पहिलो रोजाइ पोखरा नै हुने गर्दछ ।

पोखराको पर्यटनसम्बन्धी एक अनुसन्धानका अनुसार नेपाल आएका कम्तीमा पनि ४५ प्रतिशत विदेशी पर्यटक पोखरा आउने गर्दछन् । नेपालका ट्रेकिङ एजेन्टस् या पर्यटन व्यवसायीले आफ्ना पर्यटकलाई पोखरा लैजाने प्याकेज अनिवार्य बनाउन चाहेका हुन्छन् । नेपालमा आउने पर्यटकको बसाइ लम्ब्याउन पनि पोखरालाई भ्रमण गन्तव्यमा पार्नु जरुरी छ ।

त्यसैले पोखरालाई पर्यटनको राजधानी बनाउन यहाँका सरोकारवाला व्यवसायी, स्थानीय तह तथ प्रदेश सरकार नै लागेको हो । यस विषयमा अध्ययन जारी रहेकाले छिट्टै नै यस कार्यले पूर्णता पाउनेमा यहाँका पर्यटन व्यवसायीहरु विश्वस्त रहेका छन् ।