बिहिबार, बैशाख १०, २०८३

घुम्टे युवा परिवार जापानले जुलाई २४ मा दोस्रो सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने

टोकियो । घुम्टे युवा परिवार जापानले आगामी जुलाई २४ तारिक सोमबार दिन जापानमा दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष दिनेश थापाले बताए ।

घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको पृष्ठभूमिमा रहि प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न शाखाले आवश्यकता देखेकोले प्रतियोगिताको आयोजना गरिन लागेको अध्यक्ष थापाले बताए ।

उनका अनुसार प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायतबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिता रहनेमा विश्वस्त रहदै भने- प्रवासमा रहेरपनि भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिताको आयोजना गरिएकोले सहभागिताको लागि सबैमा अनुरोध गर्दछौ ।

गतवर्ष संचालन गरिएको प्रथम सिल्भर कप प्रतियोगिताको अनुभव र सिकाईलाई ध्यानमा राखेर जापानमा संचालन गरिने अन्य भलिबल प्रतियोगितालाई समेत नमूना प्रस्तुत गर्ने गरि क्लबले खेल संचालन गर्न आवश्यक तयारी गरिने क्लबका का सचिव तुलबिर थापाले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख २० हजार नगदसहित सिल्भर रनिङ कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख २० नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना दुई टिमलाई नगद ५१ हजारसहित प्रमाणपत्रको पुरस्कार रहेको छ ।

प्रतियोगिता ५ विधाका ५ जनालाई उत्कृष्ट छनोट गरि नगद, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिने छ ।सहभागिताको लागि टिम दर्ता गर्न ४० हजार तोकिएको छ । भने खेल 〒144-0031 東京都大田区東蒲田1丁目11−1 मा रहेको Ota City General Gymnasium को खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने छ । खेल प्रतियोगिताको टाईसीट जुलाई २३ तारिक ५ बजे सार्वजनिक गरिने खेल संयोजक मनोज केसीले बताए ।