शुक्रबार, बैशाख ११, २०८३

जापानमा नेपालीको विवरण संकलन पूर्वमन्त्री बस्नेतद्वारा शुभारम्भ, विवरण भर्न दूतावासको अपिल

टोकियो । जापानमा नेपालीहरुको विवरण अभिलेखिकरण गर्नको लागि संकलन सुरु गरेको छ । सोमवार टोकियोमा नेपाली राजदूतावास जापानले नेपालीहरुको अभिलेख राख्ने प्रक्रियाको पूर्व उद्योग मन्त्री महेश बस्नेतले शुभारम्भ गर्नु भएको छ।

राजदूतावास जापानले मे २९ तारिख एक विज्ञप्ति जारी गर्दै जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अभिलेख राख्ने उद्देश्यले मे २९ तारिख २०२३ बाट अभिलेखीकरण कार्यक्रम प्रारम्भ भएको जानकारी गराएको छ । दूतावासमा रहने अभिलेखमा आफ्नो विवरण दर्ता गर्न राजदूतावासले जापानवासी नेपालीहरुलाई अनुरोध समेत गरेको छ ।

यस कार्यका लागि गैरआवासीय नेपाली संघ, जापान लगायत जापानमा क्रियाशील सम्पूर्ण संघ, संस्था र समाजहरुको सहयोग र सहकार्यका लागि दूतावासले आग्रह गरेको छ।जापानभरबाट सबै नेपालीहरुले आफ्नो अभिलेख राख्न सक्नेगरि नेपाली राजदूतावास जापानको बेवसाइटमा यथाशीघ्र लिंक उपलब्ध गराइने राजदूतावासले जनाएको छ ।

गणतन्त्र दिवसको समारोहको अवसरमा शुभारम्भ कार्यक्रममा जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानमा रहेका नेपालीहरुको अभिलेख राख्नको लागि यस कामको सुरुवात गरेको जानकारी दिनु भयो ।

जापानमा नेपालीहरुको जनसंख्या, पेशा र कुन व्यवसाय गरेर बसेका छन् रु जस्ता आधिकारिक विवरणका लागि दूतावासले अभिलेख संकलन थालेको दूतावासका प्रथम सचिव जीत बहादुर कार्कीले जानकारी दिनुभयो।

नेपालीहरुलाई आवश्यक समस्या पर्दा नेपाली समाजलाई सिधै दूतावासले सम्पर्क गर्न सकियोस् भन्ने उद्देश्य दूतावासले अभिलेख गर्ने कार्य सुरु गरेको कार्कीले थप्नु भयो ।

जापानवासी नेपालीहरुको अभिलेख संकलनमा नाम, इमेल, बसोबास, पेशा लगायतका विवरणहरु समेटिने जनाएको छ सोमवार नै जापान प्रदेशका पहिलो पुस्ताको नाम रेकर्डको अभिलेखिकरण गरेर उक्त कार्यको सुरुवात गरेको थियो।