शुक्रबार, बैशाख १४, २०८१

मिटरब्याज पीडितसँग वार्ता टोली गठन

काठमाडौँ । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।

महोत्तरीको बर्दिबासबाट १२ दिनको पैदल यात्रापछि आइतबार बिहान काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरुलाई महानगरपालिकाले रोक लगाएको थियो ।