बुधबार, बैशाख १२, २०८१

आइतबार स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णय

काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सक सिंहलाई कुटपिट गरेको थियो । संघले विज्ञप्ति जारी गरी नेपाली नागरिकहरुकै शासनको रुपमा रहने लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बाहानामा दुःख, सास्ती दिनु अशोभनीय भएको बताएको छ ।