मायालु लामा , ललितपुर । पछिल्लो समय डेङ्गु रोगको सङ्क्रमण बढेसँगै देशका विभिन्न जिल्लामा सचेतना अभियान र ठाउँठाउँमा नियन्त्रणका काम सुरू गरिएको छ ।
यस्तैमा, गोदावरी नगरपालिका, १४ ठैबमा डेङ्गु रोग र मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । गोदावरी सरोकार र ओरेक नेपालको सहकार्यमा ठैबस्थित एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुल र ब्लु बर्ड स्कुलमा डेङ्गु रोगको लक्षण, लाग्ने कारण र बच्ने उपायको बारेमा जानकारी गराउनुका साथै तनाब व्यवस्थापनका तरिका र मानशिक स्वास्थस्थ्य सम्बन्धी सचेतना दिएको हो ।
डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा देखिएपछि सर्वसाधारणमा त्रास फैलिएकाले विद्यालयमा विद्यार्थीहरुलाई डेङ्गु रोगको लक्षण, लाग्ने कारण र बच्ने उपायका बारेमा अभिमुखीकरण गराउनुका साथै उनीहरुलाई तनाब व्यवस्थापन गर्ने तरिका पनि सिकाइएको गोदावरी सरोकारकी अध्यक्ष बेबी राजभण्डारी जानकारी दिईन् । टोललाई सक्रिय बनाएर डेंगुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामिण क्षेत्रमा समेत सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनी बताउँछिन् ।
डेङ्गु रोग नियन्त्रणका लागि सञ्चार माध्यमबाट सन्देशमूलक सामग्री प्रसारण, ब्रोसर प्रकाशन गरी प्रभावित र अन्य ठाउँहरूमा वितरण र स्थानीय तहसँग सहकार्य गरी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नसके केही हदसम्म नियन्त्रण गर्न सकिने उनको बुझाई छ ।
डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । डेंगुबाट जोगिन बनजंगलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने लगायतका सर्तकता आवश्यक रहेको चिकित्सकहरु बताउँछन्।

