काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले इमान्दारी देखाउन नसक्दा कम्युनिस्ट पार्टी विभाजन भएको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूले कसैलाई पार्टीबाट ननिकालेको भन्दै प्रचण्डले एकताप्रति इमान्दारी देखाउन नसक्दा कम्युनिष्ट पार्टी विभाजन भएको बताएका हुन् । उनले प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेको र पार्टी अध्यक्षमाथि आरोपको पुलिन्दा बनाएको आरोप लगाए ।
ओलीले पार्टीबाट आफूलाई निष्कासन गरेर पार्टी कब्जा गरेर प्रतिक्रियावादीको सेवामा अर्पण गर्ने काम प्रचण्डले गरे पनि आफूले पार्टीलाई जोगाएको बताए । अध्यक्ष ओलीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग चरम दुरुपयोग गरेपनि एमालेको जनमत नघटेको दाबी गरे। १५ साल यता अहिलेजस्तो राज्यशक्तिको दुरुपयोग कहिल्यै नभएको उनको भनाइ थियो ।
उनले केही सिटमा पछि परे पनि आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने जिकिर गरे । उनले प्रतिकृयावादीको नीति र नेतृत्वमा समाजवादमा पुग्न नसकिने बताए ।
वर्तमान सत्ता गठबन्धनलाई प्रतिक्रियावादीको संज्ञा दिँदै अध्यक्ष ओलीले समाजवादमा पुग्ने वैचारिक स्पष्टता एमालेमा मात्रै रहेको बताए । उनले भने,‘प्रतिकृयावादीको नीति र नेतृत्वमा समाजवादमा पुग्न सकिन्छ भन्न सकिँदैन र हुँदैन, कम्युनिस्ट पार्टीको नीति र नेतृत्वमा सकिन्छ र अरुलाई पनि साथ लिन सकिन्छ ।’

