रामेछाप । मन्थली नगरपालिकाले सरकारले घोषणा गरेको सार्वजनिक विदाको दिन आइतबार पनि विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि बसेको पहिलो कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यपालिका बैठकले नगरपालिकाभित्र सरकारले सार्वजनिक बिदा दिएको आइतबार पनि नगरभित्रका सवै विद्यालयहरु सञ्चालन गरी पढनपाठन गर्न निर्देशन दिने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले नगरभित्रका सवै विद्यालयहरुमा कक्षा एक देखि कक्षा पाँच सम्म अङ्ग्रेजी माध्ययमबाट पठन पाठन गर्ने निर्णय पनि गरेको छ ।
मन्थली नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुको पठन पाठन समयानुकुल सुधार गर्न र अभिभावक र विद्यार्थीहरुमा पनि अङ्ग्रेजी माध्ययमको शिक्षाको आकर्षण बढेको भन्दै जनशक्ति र विद्यार्थीको क्षमताका आधारमा कक्षा एक देखि कक्षा पाँचसम्म गणित र विज्ञान जस्ता मुख्य विषयहरु अनिवार्य रुपमा अङ्ग्रेजी माध्ययमबाट अध्यापन गराउन सवै विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले गर्भवतीलाई प्रसूती सेवा उपलब्ध गराउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा आएर सुरक्षितरुपमा सुत्केरी गराउने उद्देश्यले घरबाट आउन र फर्कनका लागि गर्भवती निःशुल्करुपमा एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
नगरबासि र सेवाग्राहीको गुनासो सुन्न निःशुल्क हटलाइन सेवा तथा टोल फ्री सेवा सञ्चालन गर्ने लगायतका १३ बुँदे विभिन्न निर्णय गरेको छ ।

