काठमाडौँ । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश गम्भीर संकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ज्ञवालीले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन आग्रह गरे ।
उनले मुलुक झन्डै झन्डै राष्ट्रिय संकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न नेकपा एमालेले विरोधको स्वरूपलाई परिवर्तन गरेको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरू सत्ता सेटिङमा नै व्यस्त रहेको बताए । उनले सरकारलाई महँगीले, हरेक नागरिक, हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुरा र मुलुकको अर्थतन्त्रका सबै सूचकहरुमा रातो बत्ती बल्दै गरेको अवस्थाले पनि छुन नसकेको बताए । सांसद ज्ञवालीले देशको स्थिति धेरै भयावह हुँदै गइरहेको पनि बताए ।
सांसद ज्ञवालीले भने, ‘मुलुक झन्डै झन्डै राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेको छ । त्यो विषयमा छलफल होस् भन्नका लागि हामीले विरोधको स्वरूपलाई परिवर्तन गरेका हौँ । मुलुकको अर्थतन्त्र अहिले ठूलो संकटमा छ । सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु सत्ताको सेटिङमै व्यस्त हुनुहुन्छ । उहाँहरुलाई यी कुराले सायद छुँदैन पनि होला । न महँगीले, हरेक नागरिकको हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुराले छुन्छ, न मुलुकको अर्थतन्त्रका सबै सूचकहरुमा रातो बत्ती बल्दै गरेकाले छुन्छ । विदेशी सिञ्चिति इतिहासकै न्यून भएको छ, व्यापार घाटा चुलिँदै गएको छ, भुक्तानी सन्तुलनको स्थिति भयावह छ । यदी सत्ताको सेटिङ पुगेको छ भने मेरो आग्रह छ सम्माननीय प्रधानमन्त्रीज्यू निन्द्राबाट ब्युँझिनुहोस् । माननीय मन्त्रीज्यू निन्द्राबाट ब्युँझिनु होस् । देशको स्थिति धेरै भयावह हुँदै गइरहेको छ । यस्तो बेलामा सरकारको ध्यान अवैध स्रोतबाट आएका धनलाई चोख्याउने त्यसमा साबुनपानी दलेरबसेको गुनासो गरे ।

