शनिबार, बैशाख ०८, २०८१

जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ । सर्वोच्च अदालतले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मङ्गलबार यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको प्रावधानलाई कार्यान्वयन गर्न बाटो खुलाएको हो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको थियो । त्यसविरुद्ध शेर्पा अदालत गएका थिए ।