बिहिबार, बैशाख १३, २०८१

विजेपी मुख्यालयमा जानुलाई कूटनीतिक मर्यादा विपरित भन्न मिल्दैनः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री देउवाले कूटनीतिक मर्यादा विपरित विजेपी पार्टीको मुख्यालयमा पुगेको चर्चा भइरहेका बेला मन्त्री खड्काले प्रधानमन्त्रीको हैसियतमा नभई पार्टी सभापतिको हैसियतमा प्रधानमन्त्रीले विजेपी मुख्यालयको भ्रमण गरेको स्पष्टीकरण दिएका हुन् ।

आइतबार साँझ त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिल्लीमा दुई पार्टीबीचको सम्बन्ध बलियो बनाउन मुख्यालयमै गएर भेट गरेको र त्यसलाई कूटनीतिक मर्यादा विपरित भन्न नमिल्ने बताए।

उनले भने, ‘यो कूटनीतिक मर्यादा विपरित भन्ने धारणा ठिक होइन । नेपाली काँग्रेसको आदरणीय सभापति भएको नाताले नेपाली काँग्रेस अन्य विभिन्न देशका पार्टीहरुसँग पनि एउटा मैैंत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ । चीनको कम्युनिष्ट पार्टीसँग पनि नेपाली काँग्रेसको राम्रो सम्बन्ध छ । त्यस्तै गरेर भारतको काँग्रेस पार्टीसँग पनि छ । र, अहिले भारतीय जनता पार्टीमा उहाँ प्रधानमन्त्रीको नाताले जानु भएको होइन।’