शुक्रबार, बैशाख १४, २०८१

तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले चैत १ गते नै तीन जना डिआइजीहरुलाई एआइजी बढुवामा सिफारिस गरेको थियो । आफूभन्दा जुनियरलाई बढुवा गरेको भन्दै असन्तुष्ट डिआइजीले लोकसेवा आयोगमा उजुरी दिएका थिए। उजुरी परेपनि बुधबार आयोगले बढुवा सिफारिसलाई सदर गरेको थियो । आयोगले सदर गरेको भोलिपल्टै सरकारले बढुवा गर्ने निर्णय गरेको हो।