ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन आज हुने भएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा राष्ट्रपति विधादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवा सहभागी हुने भएको हो ।
आज शनिवार देखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने छन् ।
सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको तर उनीहरुको उपस्थिती भने निश्चित भैसकेको छैन् । घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एक समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भवना न्यून रहेको बताइन्छ ।
दुई दिन सम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।
लामो समयअघिबाट नेतृत्वको बीचमा भएको विबादका कारण अनिर्णयको बन्दी बनेको संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संसोधन गर्ने तयारी गरिएसंगै सम्मेलन गर्ने सहमति भएको हो ।




