शुक्रबार, बैशाख १४, २०८१

जापानमा ७.३ म्याग्नेच्युटको शक्तिशाली भूकम्प, हालसम्म ३ जनाको मृत्यु

टोकियो । जापानको मियागी र फुकुशिमा क्षेत्रलाई केन्द्र बनाएर बुधवार शक्तिशाली भूकम्प गएको छ ।
बुधबार राती ११:३६ बजेतिर मियागी र फुकुसिमा क्षेत्रमा केन्द्र बनाएर ७.३ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

भूकम्पमा परी हालसम्म ३ जनाको मृत्यु भएको छ भने १ सय २६ जनाभन्दा बढी मानिसहरु घाईते भएका छन् ।

भूकम्प मियागी र फुकुसिमा क्षेत्रमा १ मिटर माथि सम्मको सुनामी आउन सक्ने बताइए पनि सुनामीको खतरा भने टरेको छ ।

जापानको स्थानीय संचार माध्यमहरुले दिएको जानकारी अनुसार मियागी प्रिफेक्चरमा ४४, फुकुसिमा प्रिफेक्चरमा ३०, इवाते प्रिफेक्चर र यमागाता प्रिफेक्चरमा ३/३ जना गरी देश भर गरि १ सय २६ जना भन्दा बढी घाइते भएका हुन ।

पछिल्लो विवरण अनुसार मियागी र फुकुसिमा क्षेत्रका करिब ३५ हजार ६०० घर धुरीमा बिद्युत आपुर्ती बन्द भएको छ । त्यस्तै जापानको रेल सेवा समेत प्रभावित भएको छ ।

९६ जना यात्रु लिएर जापानको टोकियोबाट सेन्दाइ जाँदै गरेको यात्रुबहाक बुलेट ट्रेन भुकम्पका कारण सामान्य दुर्घटना भएको थियो । मियागी प्रिफेक्चरको सिराइसी नगरपालिकामा गुडिरहेको यामाबिको २२३ ट्रेन भूकम्प गएपछि इमेर्जेन्सी ब्रेक लगाउदा सामान्य दुर्घटनामा परेको समाचारहरुमा जनाइएको छ । उक्त ट्रेनमा रहेका यात्रुहरुलाई झन्डै ४ घण्टा पछी ट्रेनको इमर्जेन्सी ढोकाबाट बाहिर निकालिएको थियो भने सबै यात्रु सुरक्षित रहेको पुर्बी जापान रेल वे कम्पनीले जनाएको छ ।

भूकम्प गए पछी त्रसित नेपाली समुदायमा हालसम्म मानबिय क्षतिको खबर भने आएको छैन ।