मङ्गलबार, असोज ०९, २०८०

सुनको भाउ १ लाख नाघ्यो,चाँदीको मूल्य पनि अहिलेसम्मकै कीर्तिमानी

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि त्यसको असर परेको छ । युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायत लगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग बढ्न गएको हो, जसले केही सातादेखि मूल्यमा असर पारिरहेको छ ।

नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्ष २०७७ सालको भदौ यता पहिलोपटक सुनको मूल्य १ लाख रुपैयाँभन्दा बढी भएको हो । शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १४१५ रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला १३८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै कीर्तिमानी हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १९७४ डलर हाराहारीमा पुगेको छ ।