बिहिबार, असार ०४, २०८३

जापानमा एकैदिन ३२ हजारमा कोरोना संक्रमण : जनवरी २१ बाट फेब्रअरी १३ सम्म अर्ध आपतकाल

टोकियो । जापान सरकारले नयाँ कोरोना भाइरस फैलावट रोकथामका उपायहरू लागू गर्न जनवरी २१ देखि फेब्रअरी १३ सम्म कायम रहने गरि हाल १ महानगरीय क्षेत्रसहित १३ वटा प्रान्तमा अर्ध आपतकाल घोषणा गरेको छ ।
यसअघि लागू गरेको ३ प्रान्तसहित जापानको १६ वटा प्रान्तमा विस्तार गर्ने गरि रोकथामका उपायहरू लागु गर्ने निर्णय गरेको छ ।

नयाँ कोरोना भाइरस ओमिक्रोनबाट नयाँ संक्रमित हुनेको संख्या तिव्र गतिमा बढिरहेको र अस्पतालमा बेडको प्रयोग दर पनि बढ्दै गएपछि प्रधानमन्त्री फुमिओ किशिदाले १८ तारिख स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री गोटो र नयाँ कोरोनाको भाईरस सम्बन्धी हेर्ने प्रभारी मन्त्री गोटोसँगको परामर्शमा कोरोना रोकथाम र नियन्त्रणका उपायहरू प्रभावकारी गराउन लागिएको हो ।
कोरोना रोकथाम र नियन्त्रणका उपाय प्रभावकारी गराइने प्रान्तहरूमा टोकियो, साइतामा, चिबा, कानागावा, गुन्मा, निगाता, आइची, गिफु, मिए, कागावा, नागासाकी, कुमामोटो र मियाजाकी गरेर १३ प्रान्तका गभर्नरहरूबाट प्राथमिकताका उपायहरू अवलम्बन गर्ने गरि निवेदन दिन प्रधानमन्त्री किशिदाले आग्रह गरेका छन ।
प्राथमिकताका उपायहरू लागू गर्ने निर्णय गरेको क्षेत्रमा फैलावट रोकथाम जस्ता प्राथमिकताका उपायहरू लागू गर्न अनुरोध गरिएको छ। यसका लागि बुधबार सरकारले संक्रामक रोगका विज्ञहरू मिलेर बनेको ‘आधारभूत प्रतिकार्य नीति उपसमिति’सँग परामर्श गरी संसदमा प्रतिवेदन दिने र त्यसपछि काउन्टरमेजर मुख्यालयमार्फत औपचारिक रूपमा निर्णय गरिने बताईएको छ । यस उप समितिले दिएको सुझाव अनुरूप निर्णय गरियो भने प्राथमिकताका उपायहरू लागू हुने क्षेत्रलाई १६ वटा प्रान्तमा विस्तार गरिने छ ।

सङ्क्रमण रोकथाम जस्ता प्राथमिकताका उपायहरूका लागि अनुरोध गर्ने १३ प्रान्तका सम्बन्धमा प्रत्येक स्थानीय सरकारले सुरक्षित चिकित्सा प्रणाली ठीकसँग सञ्चालन गर्न थप तयारी गर्नेछ, र तिव्र सङ्क्रमितको संख्या रोक्न आवश्यक उपाय लागु गर्ने गरि कदम चाल्ने निष्कर्षमा केन्द्रीय सरकार पुगेको बताईएको छ ।

मंगलबार मात्र जापानमा ३२ हजार १९७ जना नया कोरोना संक्रमित देखिएका छन । टोकियोमा मात्र ५ हजार १ सय ८५ ओसाकामा ५ हजार ३ सय ९६ नया कोरोना संक्रमित फेला परेका छन । हालसम्म जापानमा १९ लाख ३८ हजार ९०५ जना संक्रमित भएकोमा १८ हजार ४५९ जनाको ज्यान गएको छ ।