बिहिबार, बैशाख ०३, २०८३

राष्ट्रियसभा सदस्य पदको उमेद्वार आज मनोनयन, गठबन्धन मिलेर लड्दै

काठमाडौं । राष्ट्रियसभा सदस्य पदको उम्मेदवार मनोनयन आज हुँदैछ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ ।

आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिँदैछन् । आज उम्मेदवार मनोनयन दर्ता गरेका उम्मेदवारहरुलाई आयोगले पुस २५ गते निर्वाचन चिन्ह प्रदान गर्नेछ ।

आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा ९एकीकृत समाजवादी०का चार, नेकपा ९माओवादी केन्द्र०का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् ।निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ ।

निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो ।

१९ पदका लागि हुन लागेको निर्वाचनमा सत्तारुढ गठबन्धनले भने आपसी सहमति गरी सिट बाँडेका छन् ।