मङ्गलबार, बैशाख ०४, २०८१

प्रधानमन्त्रीले चाहे पनि पनि काम गर्न दिँदैनन्ः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताएका छन् । शुक्रबार चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताएका हुन् ।

उनले चुनावपछि एमालेको सरकार बन्ने र बाँकी रहेका विकासका काम पूरा गर्ने दाबी गरे । अध्यक्ष ओलीले स्थानीय तहमा ५० प्रतिशत भन्दा बढी जनमत एमालेको पक्षमा आउने ठोकुवा गरे ।

उनले भने,‘महाधिवेशनले देशका समस्या पहिचान गर्ने र समाधानका लागि अगाडि बढ्ने कार्य गर्छ । ढिलो चाँडो गलत बाटो नजाउँ । परमादेशबाट सरकार फेरिने जस्ता असंवैधानिक कुरामा नजाउँ भनेर आग्रह गरेका थियौं । केही राजनीतिक दल मानेनन् । निकट भविष्यमा चुनावहरु आउँदैछन् । म हाम्रा कमरेडहरुलाई भन्न चाहन्छु मैले धेरै भनिरहनु पदैन । चुनावको तयारी तर्फ पनि जाँदैछौं । जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ देश बनाउनका लागि एमालेका लागि होइन । लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर संविधानको रक्षा र कार्यान्वयनका लागि, यस देशमा विकासको लहर चलाउन र छिट्टै नै देशलाई दिगो विकास लक्ष्य पूरा गर्नुछ । दुनियाँका अगाडि साधन श्रोतले सम्पन्न राष्ट बनाउनुछ।’

अध्यक्ष ओलीले महाधिवेशनले देशका समस्या पहिचना गर्ने र समाधानका लागि बाटो तय गर्ने बताए । उनले आफूहरु शान्तिको पक्षमा रहेको बताए । उनले भने, ‘महाधिवेशनबाट हामीले केही नीतिहरु दुनियाँले बुझ्ने गरी प्रष्ट पार्नुछ । हामी हिंसाको विश्वास गर्दैनौं, धर्म भूगोल र धर्ममा विद्धेश फैलाउन चाहँदैनौं । हामी समाजिक सद्भावको पक्षमा छौं । हामी राष्ट्रिय एकता कायम गर्न चाहन्छौं । समझदारी, सद्भाव र एकता हो । स्वाधिनताको रक्षा गर्न चाहन्छौं हामी । स्वाधिनताको यथार्थ बास्तविक अभ्यास गर्न चाहन्छौं । हामी कसैसँग ठूला साना जोसुकैसँग सबै राष्ट्रको सार्वभौम सत्ता समान छ भन्न चाहन्छौं । छैन कोहीसँग सत्रुता सबैसँग मित्रताको नीति चाहन्छौं । छिमेकीसँग छलफलका माध्यमबाट केही समस्या छन् तिनलाई टुंग्याउन चाहन्छौं । लिपुलेक र लिम्पियाधुराको विवाद संवादका माध्यमबाट फिर्ता लिन चाहन्छौं । फिर्ता नहुँदासम्म हामी हेपिएको महसुस गरिरहन्छौं ।’

अध्यक्ष ओलीले आवश्यक परेमा संविधान संशोधन गर्न सकिने बताए । उनले भने,‘नेपाली जनताले बनाएको संविधान भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सक्छौं र त्यसमा हामी लचक छौं ।’ उनले आफूहरुले हिंसात्मक विचारधारामा रहेका साथीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको भन्दै अव नेपालमा समूहगत हिंसा नभएको बताए । उनले अब नेपालमा लगानीको वातावरण रहेको भन्नै विदेशी लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् । सरकारका बारेमा केही टिप्पणी नगर्ने भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले चाहेर पनि काम गर्न नसक्ने बताए ।

उनले भने,‘शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीले चाहे पनि सक्नु हुन्न । त्यहाँ त्यस्ता खराब तत्वहरु रहेका छन् । शान्ति प्रक्रियालाई सही ढंगले टुंग्गाउने पक्षमा हामी छौं ।’