शुक्रबार, चैत १६, २०८०

चितवनमा एमाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा, चार देशबाट विदेशी पाहुना आउने

चितवन । नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी पूरा भएको बताएको छ । बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारी सकिएको जानकारी दिएका हुन् । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेका छन् ।

उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी हुने एमालेले बताएको छ । सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने व्यवस्था गरिएको छ । बन्द सत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पिडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आउने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनीतिक दलका नेताहरू सहभागी हुने उनले बताए ।

११ गते बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने र बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा मतदानको काम हुने उनले बताए । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।