शनिबार, बैशाख ०८, २०८१

महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुन्छन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नजुटे महाधिवेशनको नेतृत्व निर्वाचनबाटै चयन गरिने बताएका छन् । मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले सहमति नभए अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चुनाव गर्ने बताएका हुन् । उनले आफ्नो इच्छा मिलेर जाने भएको तर कर लगाएर कसैलाई पनि उठ र नउठ नभन्ने बताए ।

उनले भने,‘ मैले अध्यक्ष नउठेर बसिदिए हुन्थ्यो भन्ने बाहिरकाको पनि सुझाव छ । म कसैलाई कर गर्दिन । सहमति नभए सबैमा चुनाव हुन्छ।’ उनले महाधिवेशनमा उम्मेदवार बन्ने कि नबन्ने भन्ने निर्णय आफूले गरिनसकेको बताए । अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर उपाध्यक्ष भीमबहादुर रावलले आफूप्रति सम्मान, माया र स्नेह देखाएको बताए ।

उनले भने, ‘रावलजीले मलाई चुनौती दिनुभएको छैन । मप्रति उहाँले आदर, सम्मान, माया र स्नेह देखाउनुभएको छ । उहाँको स्नेहहपूर्ण सुझावबाट म प्रभावित छु ।’ उनले पदाधिकारीमा सहमति गर्नका लागि आग्रह पनि नगर्ने बताए ।

अध्यक्ष ओलीले झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिए । चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिएका हुन् । अध्यक्ष ओलीले दशौं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने बताए ।

उनले महाधिवेशनमा १०/२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने बताए । उनले भने, ‘नेपालका सवारी साधनले बोक्न भ्याउने जति जनसमुदाय सहभागी हुनेछन्, ठुला सवारी साधन, लामो दुरीका सवारी साधनले बोक्न सक्नेसम्मको मानिस महाधिवेशनमा सहभागी हुन्छन् ।’