काठमाडौं । विभिन्न क्षेत्रमा रही सामाजिक धार्मिक सांस्कृतिक कार्यमा उच्च योगदान गर्ने तथा कोरोना महामारीका बेलामा पनि आफ्नो जीवनको प्रवाह नगरी मानवसेवा तथा पशुपन्छी सेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ९ जना नारीलाई ‘पहिलो नवजीवन नवदुर्गा सम्मान’बाट सम्मान गरिएको छ ।
नवजीवन परोपकार समाजले आईतबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले नगरपालिकाकी उपमेयर भवानी डोटेल,वरिष्ठ अभिनेत्री गौरी मल्ल र राष्ट्रसेवक कर्मचारी ससिकला पौड्याललाई सम्मान गर्नुभएको थियो ।
त्यसैगरी मेयर बोहराले वरिष्ठ व्युटिसिएन मीना केसी,वेदीका शर्मा ,साङे पाल्मो लामा,पत्रकार रेजिना थापा कार्की,मानव तथा पशुसेवक सर्वश्री अधिकारी र डा.ज्ञानु खड्कालाई पनि सम्मान गर्नुभयो । पछिल्लो समय समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताउँदै मेयर बोहराले सोही राज्यका हरेक संरचनासहित अन्य क्षेत्रको नेतृत्व तहमा महिलालाई पुर्याउनका निम्ति भएका ऐन कानुनको कार्यान्वयन गर्न सकारात्मक दबाब दिनुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा नगरपालिकाको चौतर्फी विकास निर्माणको लागि नवजीवन निर्माण अतुलनिय साथ सहयोग हौसला बढाउने तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा तथा वडा अध्यक्ष सानुकाजी खत्री ,नवजीवनका जग्गा दाता बस्नेत परिवार पनि सम्मानित हुनुभएको थियो।
नवजीवन परोपकार समाजले हरेक वर्ष विभिन्न क्षेत्रका सामाजिक कार्यमा उच्च योगदान पुर्याउने महिलाहरुलाई नवजीवन नवदुर्गा सम्मानबाट समानित गर्ने अध्यक्ष दुर्गानाथ दाहालले बताउनुभयो ।

