शुक्रबार, बैशाख १४, २०८१

तेजाब नियन्त्रण, प्रहरी समायोजनलगायतका तीनवटा विधेयक संसदमा पेस गर्न स्वीकृत दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले तेजाब नियन्त्र, शपथ र प्रहरी समायोजनसम्बन्धी तीन वटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन वटा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सपथ सम्बन्धमा व्यवस्था गरेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन विधेयक र तेजाब तथा घातक रसायन नियन्त्रणका सन्दर्भमा बनेको विधेयक संसदमा पेस गर्ने निर्णय भएको जानकारी दिए ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले तेजाब नियन्त्र, प्रहरी समायोजन र शपथ सम्बन्धी अध्यादेश ल्याएको थियो। संघीय संसदमा ६० दिनसम्म पनि प्रतिस्थापन विधेयक नल्याइएका कारण ती अध्यादेशहरु निस्क्रिय भएका थिए ।

अघिल्लो सरकारले अध्यादेशका रुपमा ल्याएको कानुनको आवश्यकता रहेको भन्दै सरकारले विधेयक पेस गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले समाज कल्याण परिषद्बाट राजीनामा दिएका सवै पदाधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ। बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने र गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।