शनिबार, बैशाख ०८, २०८१

नेपाल–चीन सीमा समस्या समाधान गर्न सरकारले पहल गर्छः गृहमन्त्री

काठमाडौँ । हुम्लाको नाम्खास्थित नेपाल–चीन सीमा क्षेत्रको अध्ययन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई आइतबार प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले समितिका सुझाव सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । अध्ययनमा यहाँहरूले औँल्याउनुभएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’

सरकारले सहसचिव आचार्यको संयोजकत्वमा दुई साताअघि गृह मन्त्रालयले नापी विभागका उप महानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक किशोर श्रेष्ठ सम्मिलित ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । भदौ २५ गते हुम्ला प्रस्थान गरेको टोली असोज २ गते गरी फर्किएको थियो ।