शुक्रबार, बैशाख १४, २०८१

इजरायल पठाइने नेपाली सहायक कामदारीको सूची सार्वजनिक

काठमाडौं । रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा १६ सय जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभागले परीषामा उत्तीर्ण १६ सय जनाको नाम आइतबार सार्वजनिक गरेको हो ।

विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार लिखित परीक्षा, अन्तरर्वार्तालगायत समेतबाट योग्य ठहरिएकाको नाम सिफारिस गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ,‘नेपालस्थित इजरायली राजदूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १,६०० जना उमेदवार (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) सिफारिस गर्न माग भएअनुसार देहायबमोजिमको रोल नम्बर भएका महिला तथा पुरुष उमेदवारहरुको योग्यताक्रम कायम हुन आएकोले तपसिलबमोजिमको योग्यताक्रम सूची तयार गरी नेपालस्थित इजरायली राजदूतावासमार्फत पीआईबीए (पपुलेसन, इमिग्रेसन एन्ड बोर्डर अथोरिटी अफ इजरायल)मा सिफारिस गर्ने छनोट समितिबाट मिति २०७८/६/१० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए ।