आठ दश वर्ष अरुलाई गाली गरेर बिताइयो, अब चाहिँ आफैंलाई गरौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे फेरि सडकमा जानुपर्ने अवस्था आउने बताएका छन् ।

पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

उनले संविधान नहुनु भन्दा हुन ठिक भनेर सम्झौता गरेको बताए । उनले भने,‘ नहुनु भन्दा संविधान जारी होस् भनेर नोट अफ डिसेन्ट लेखेर सम्झौता गरेका हौं । संविधान अपूरो छ भनेर दुई पटक संविधान संशोधन गर्न प्रस्ताव ससदमा पेश गरेको पनि हो । तर दक्षिपन्थीहरुको कारण सफल हुन सकेन । संविधानले संविधान संशोधन र परिमार्जनको बाटो खोलेको छ । जरुरी पर्यो भने संविधान संशोधनका लागि सडकमा जानुपर्न सक्छ।’ उनले आफूहरु पार्टी पुननिर्माण र रुपान्तरणको अभियानमा जान लागेकाले नेता कार्यकर्तालाई तयार रहन आग्रह गरे । उनले अब नेता कार्यकर्ताले आफैंबाट सच्चिन सुरु गर्नुपर्ने बताए । उनले भने, ‘आठ दश वर्ष अरुलाई गाली गरेर बिताइयो । अब चाहिँ आफैंलाई गाली गरौं । म चाहिँ सच्चिनुपर्छ भनेर लागियो भने पार्टी बदलिन्छ र एउटा महान पार्टी बन्छ ।’

उनले आगामी निर्वाचनमा माओवादी फेरि ठूलो पार्टी बन्ने दावी गरे । उनले भने, ‘अरुले त पत्याउँदैनन् । जनयुद्ध त सफल हुँदैन भन्थे । शान्ति प्रक्रियापछि पनि माओवादीको पाँच सात सिट आउँदैन भन्थे । बन्दुक देखाएर तर्साएका भन्थे । आउँदा त सोत्तर आयो नि । केन्द्रीय समितिबाट जुन निर्णय लिएका छौं नि देशभर अभियानका रुपमा जाने भनेर । फेरि आउँछ माओवादीको लहर । हेर्नुहोला आगामी निर्वाचनमा माओवादी ठूलो पार्टी बन्ने छ । पछिल्लो आन्दोलनबाट देशभक्त पार्टी माओवादी रहेछ भन्ने जनताको बुझाई रहेको छ । हामीले देशको नेतृत्व गर्ने अवसर आउँछ । हामीलाई एक नम्बरको हुन कसैले पनि रोक्न सक्दैन। हामी मित्र शक्ति पनि खोज्दैछौं । गठबन्धनलाई सँगै लैजादैछौं । त्यसबाट दुई तिहाइको सरकार बन्न कसैले रोक्न सक्दैन ।’

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: