शुक्रबार, बैशाख १४, २०८१

बाग्मती प्रदेश अष्टलक्ष्मी शाक्य दलको नेता चयन, आजै मुख्यमन्त्री बनाउने

हेटौडा । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको एमालेका एक सांसदले बताए ।

मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । संसदीय दलको बुधबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गर्दै दलको नेता चयनका लागि तीन सदस्यीय समिति बनाएको छ ।

समितिमा दीपकराज पाण्डे, दीपक निरौला र रचना खड्का छन् । यो समितिले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया पूरा गर्नेछ । सांसद अरुण नेपालका अनुसार अब दलको नेतामा शाक्य चयन हुनेछिन् र उनी मुख्यमन्त्री बन्नेछिन् ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद छन् । मुख्यमन्त्री पौडेल अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् भने मुख्यमन्त्रीमा प्रस्ताव गरिएकी शाक्य माधव नेपाल समूहका हुन् ।