शुक्रबार, बैशाख १४, २०८१

विस्थापित भएर काबुलमा बसेकालाई राष्ट्रसङ्घीय एजेन्सीद्वारा सहयोग

काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानीले कब्जा गरेपछि अफगानिस्तान र विदेशका कतिपय नागरिक अरु प्रान्तबाट काबुल आइपुगेका छन् ।

उनीहरु र हालै राजधानी काबुल तालिबानले कब्जा गरिसकेपछि उत्पन्न परिस्थितिबाट यहाँ रहेका विभिन्न देशका नागरिक स्वदेश फर्किन विमानस्थल पुगेका छन् । आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् ।

उनीहरुलाई आवश्यक पर्ने खाद्य तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको छ । त्यहाँ उपस्थित ठूलो सङ्ख्याका विदेशी नागरिकलाई आवश्यक सहयोग गरिएको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन् ।

उनका अनुसार गत महिनादेखि अफगानिस्तानको हेरात, घज्नी, लागोर प्रान्तबाट पनि ठूलो संख्याका नागरिक यहाँ विस्थापित भएर आएका छन् ।